धादिङ–४२औं विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन जना कृषक पुरस्कृत भएका छन् ।
जिल्लाभित्रका कृषि कर्ममा उत्कृष्ट छानिएका थाक्रेका राम बहादुर सुवेदी, त्रिपुरासुन्दरीका नविन सिंखडा र भक्त बहादुर बस्नेतलाई कृषि ज्ञान केन्द्र धादिङले नगदसहित सम्मान गरेको छ । पुरस्कृत कृषकहरुलाई प्रतिव्यक्ति १० हजार नगद र सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख दिनेश आचार्यले बताए ।
४२औं विश्व खाद्य दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीलाई पनि ज्ञान केन्द्रले पुरस्कृत गरेको छ । प्रतियोगितामा बेनिघाट रोराङ गाउँपालिकाको मलेखुस्थित बागेश्वरी माविकी छात्रा सदिक्षा आचार्य प्रथम भएकी थिइन् । बेनिघाट रोराङकै चन्द्रोदय माविकी सिर्जना लोहनी द्धितीय, गजुरीको डोलभन्ज्याङ माविकी विनिता घिमिरे तृतीय र नीलकण्ठ नगरपालिकाको धादिङ आवासीय माविकी कृषला श्रेष्ठ सात्वना भएकी थिइन् । विजयी चारै जनालाई नगदसहित ज्ञान केन्द्रले पुरस्कृत गरेको हो ।
विद्यार्थीहरुले लेखेको निबन्धमा कृषिमा दिगोपन, अर्गानिक उत्पादनमा जोड, जैविक मल उत्पादनलाई बढावा, वातावरण सन्तुलन, मानव स्वास्थ्यमा सुधार, जैविक मल उत्पादनमा सरकारको लगानी लगाएतका विषयवस्तुहरु समावेश थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले मुख्य पेशा कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै उत्पादन वृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
कृषि पेशाबाट किसानहरु पलायन हुँदै गएकोले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका सबै क्षेत्र र सरकारका अंगहरु एक भएर अघि बढ्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले स्पष्ट पारे ।