धादिङ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका नेपाली कमेडी क्षेत्रका हिमेश पन्त प्रचारमा सक्रिय बनेका छन् । पार्टीको प्रचार र उम्मेदवारको प्रचारको क्रममा शुक्रबार धादिङबेसीमा पत्रकार भेट कार्यक्रम गरेका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ मा चुनाव लड्दैछन् । धादिङको थाक्रे गाउँपालिका घर भएका हिमेश प्रत्यक्षतर्फको उम्मेदवार हुन् ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं् बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेकपा एमालेका नेता भूमि त्रिपाठीसँग प्रतिष्पर्धा गर्न हिमेशले पछिल्लो समय प्रचारलाई तीव्र पारेका छन् ।
टिभी रियालिटी सो कमेडी च्याम्पियनका विजेता समेत हुन् । आफ्नो चुनावी एजेन्डासहित प्रचारमा निस्किएका उनले ठूला पार्टी भनेर हिँडेका युवाहरुको पनि आफुले साथ पाएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ मा पनि पशुमाया तामाङलाई प्रत्यक्षबाट उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा समानुपालिकमा पनि उम्मेदवार उठाएको यो पार्टीले प्रदेशसभामा भने उम्मेदवार उठाएको छैन ।