धादिङ– नेकपा एमालेका तर्फबाट धादिङको क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का उम्मेदवार धनबहादुर घलेले पदबाट राजिनामा दिएको र पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राप्रपासँग तालमेल पछि पार्टीले आफ्नो उम्मेदवारी फिर्ता गराएको भन्दै घलेले सामाजिक संजाल फेसबुक मार्फत पार्टीको पदबाट राजिनामा र पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।
नेकपा एमालेले धादिङ प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा ‘ख’ मा धन बहादुर घलेलाइ फिर्ता बोलाएर राप्रपाका नेता एवं बुद्धिमान तामाङका भाइ डम्वर तामाङलाई सघाउने भएको छ । घलले एमालेकै एउटा समुहले किर्ते हस्ताक्षर गरेर घलेको उम्मेदवारी फिर्ता गरेको आरोप लगाएको छ । ‘यो एमालेको जिल्ला नेता खेम लोहनीको किर्ते हो । हाम्रा उम्मेदवारलाई एक वचन नसोधी उम्मेदवारी फिर्ता लिएर राप्रपाका उम्मेदवारलाई समर्थन गरेको देखियो’, घलेले भने– ‘खेम लोहनीले म काठमाडौंमा रहँदा मलाई नै नसोधी मेरो उम्मेदवारी रद्द गरी राप्रपाका उम्मेदवारलाई समर्थन गरेछ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रसा)सँग तालमेल गरेर घलेको ठाउँमा राप्रपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ । धादिङ २ को प्रतिनिधिसभा तर्फका एमालेकै उम्मेदवार रहेका खेम प्रसाद लोहनीले राप्रपाका उम्मेदवार डम्बर घलेलाई समर्थन गर्ने सहमति गरेका छन् ।
घले पूर्व सांसद र एमाले धादिङका उपाध्यक्ष हुन् । ‘म संग कसैले अनुमति पनि मागेका छैन । पद र पावरको बलमा निर्वाचन अधिकृतको संग साँठगाठ गरेर मेरो उम्मेद्वारी फिर्ता गराइयो’, घलेले भने– ‘म कानुन अध्ययन गर्दै छु, आगामी कदम कानुन अनुसार चाल्ने छु ।’
एमाले धादिङका अध्यक्ष भुमी प्रसाद त्रिपाठीले भने समग्र जिल्लाको परिस्थितिलाई हेरेर तालमेल गर्दा पार्टीका शीर्ष नेताहरुकै निर्णय लागु गरिएको बताए । उनले भने–‘सिंगो पार्टी भन्दा व्यक्ति ठूलो होइन, तालमेल गर्ने निर्णयपछि पार्टी नेतृत्वले बाध्य भएर उहाँको उम्मेदवारी फिर्ता गराएका हौं ।’
निर्वाचन कार्यालयले भने दलको पत्रको आधारमा एमालेबाट प्रदेशसभा उम्मेदवार बनेका घलेको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ । तर, निर्वाचन आयोगले नै जारी गरेको नियमावलीमा भने दलको पत्रको आधारमा उम्मेदवारी रद्द गर्न पाउने व्यवस्था छैन । जारी भएको नियमावली अनुसार कुनै पनि उम्मेदवारले आफ्नो नाम उम्मेदवारको नामावलीबाट फिर्ता लिन चाहेमा निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयअवधि भित्र निर्वाचन अधिकृत समक्ष आफ्नोना फिर्ता लिन सक्ने उल्लेख छ । नाम फिर्ता लिएको सुचना उम्मेवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नुपर्ने समेत उल्लेख छ ।