धादिङ– आमाको देहावसानको त्रिरियापुत्री बसेका बागमती प्रदेशका मुख्यमन्त्री एवं् नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले वारेसनामा मार्फत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगको प्रावधान अनुसार पाण्डेले मनोनयन दर्ता गराएका हुन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले प्रतिनिधिको रुपमा पार्टीको जिल्ला कमिटि धादिङका सचिव सुवास खतिवडालाई पठाएका थिए ।
उम्मेदवारको आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्ध गराइएको सचिव खतिवडाले बताए ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पनि वारेसनामाबाट नै मनोनयन दर्ता गराएका छन् । राजेन्द्र र सुरेन्द्रका आमा मनमाया पाण्डेको गत असोज १३ गते ८७ वर्षको उमेरमा निधन भएको थियो । आमाको देहावसानको १२ औं दिनका कारण आफु स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएकोले वारेसवाट उम्मेदवारी दर्ता गराउने पाण्डेले सामाजिक संजाल मार्फत जानकारी गराएका थिए ।