Fri. Nov 29th, 2024

नलाङ स्वास्थ्य चौकीद्धारा घरघरै डेंगु रोकथाम अभियान

धादिङ–डेंगु संक्रमणको जोखिम बढेपछि नलाङ स्वास्थ्य चौकीले डंगुको संक्रमण रोकथामको अभियान सुरु गरेको छ । दिनानुदिन डेंगुको संक्रमण बढ्दै जाँदा डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियान चलाएको हो ।

रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक चेतनामुलक सन्देश फैलाउँदै स्थानीयको घरघरमै पुगेर सरसफाई अभियान चलाउन सुरु गरिएको स्वास्थ्य चौकीकी हेल्थ असिस्टेन्ट प्रतिमा तिमल्सिनाले जानकारी दिइन् । अभियान अन्तर्गत घर वरपर रहेका फोहोर सरसफाई, पानी जमेका खाल्डाखुल्डी पुर्ने काम गरिरहेको तिमल्सिनाले बताइन् ।

सिद्दलेक गाउँपालिका वडा नं. २ मा पर्ने नलाङ स्वास्थ्य चौकीका अध्यक्ष एवं् वडा अध्यक्ष सागर गुरुङसहित स्वास्थ्य चौकी व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह र स्थानीयहरु अभियानमा संलग्न छन् । ‘सबै लागौ सबै जागौ, वरिपरि जमेको पानी हटाइ डेंगु भगाऔ’ भन्ने नारासहित उनीहरुले गाउँ वस्तीका घरघरमै पुगेर सरसफाई गरेका छन् ।

नेपालका विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि स्वास्थ्य चौकीले यो अभियान सुरु गरेको वडा अध्यक्ष गुरुङले बताए । डेंगुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै वडा कार्यालय र स्वास्थ्य चौकीको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको गुरुङले बताए ।

नेपालमा हाल देखिएको डेंगु संक्रमण प्रकोपको प्रतिकार्य, नियन्त्रण तथा रोकथाम सम्बन्धी विषयमा स्थानीयहरुलाई पनि सचेत गराइएको छ । ‘डेंगु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्रायः दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ’, तिमस्लिनाले भनिन्–‘यसबाट जोगिन र सर्वसाधारणलाई जोगाउन यो अभियान चलाएका हौं ।’ नलाङ स्वास्थ्य चौकीमा डेंगुको लक्षण मिल्ने विरामीको संख्या दैनिक बढ्न थालेपछि रोकथामको अभियान सुरु गरिएको उनले जानकारी दिइन् । उनका अनुसार स्वास्थ्य चौकीमा दैनिक ४÷५ जना डेंगुको लक्षण देखिने विरामी आउने गरेका छन् ।

About The Author

अन्य समाचारहरु: