Fri. Feb 28th, 2025

मलेसियामा अलपत्र ४ सय ३ नेपालीको उद्धार

malesiya

क्वालालम्पुर -मलेसियामा अलपत्र परेका ४ सय ३ नेपालीको उद्धार गरिएको छ। हवाई टिकट नभएर मलेसियाका घरफिर्ती केन्द्रमा (डिटेन्सन सेन्टर) मा अलपत्र परेकाहरुलाई नेपाल वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र दर्जनभन्दा बढी विभिन्न निजी कम्पनीहरूको सहयोगमा उद्धार गरिएको हो।

गत जनावरी यता उद्धार गरी फर्काइएकामध्ये १ सय ५१ जनालाई सरकारी सहयोग र बाँकी २ सय ५२ लाई विभिन्न नेपाली, मलेसियाली कम्पनीहरूको सहयोगमा फर्काइएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासद्वारा जारी विज्ञप्तिअनुसार म्याक सेक्युरिटी एसडिन बिएचडी, युनिभर्सल गार्डस् र अल सेफ गार्डस्ले ३० नेपालीका लागि हवाई टिकट सहयोग गरेका थिए। इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) ले ५०, पर्सपरिटाज् म्यानेजमेन्ट सर्भिसेसले २०, कोपरसी इमिग्रेसन बर्हाडले ३५, वैस्टिनेटले ४२ र म्यानफोर्स रिसोर्सेसले १५ जनाका लागि हवाई टिकट उपलब्ध गराएका थिए। हालसम्म उद्धार गरिएका नेपालीमा अधिकांश अधिकांश पुरुष र केही महिला छन्।

नेपाली राजदूत डा। निरञ्जनमान सिंह बस्न्यातका अनुसार मलेसियाका विभिन्न फिर्तीकेन्द्रमा अझै २ सय ५० जना घरफिर्तीका लागि टिकटको पर्खाइमा छन्। ‘सबैलाई फर्काउने तयारीमा छौं,’ बस्न्यातले भने। उनले यो काममा सहयोग गर्न नेपाली कामदार कार्यरत मलेसियाली कम्पनीहरूलाई आग्रह गरेका छन्। दूतावासको तथ्यांकमा मलेसियाका विभिन्न जेलमा हाल २ सय २२ जना नेपाली विभिन्न अभियोगमा सजाय भोगिरहेका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसिया आएका सयौं नेपाली चोरी डकैतीदेखि गम्भीर मानिने लागूऔषध कारोबार र हत्याजस्ता गम्भीर मुद्दामासमेत जेल पर्ने गरेका छन्।

सन् २०१० यतामात्र फिर्ती केन्द्रबाट ११ सयभन्दा बढीको उद्धार भइसकेको दूतावासको तथ्यांकले देखाउँछ। पछिल्ला वर्षहरूमा सजाय भुक्तान गरिसकेपछि फर्कने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। मलेसियाका विभिन्न स्थानमा गरी करिब १५ डिटेन्सन सेन्टर छन्।

About The Author

अन्य समाचारहरु: