धादिङ – भूकम्पपछि उत्तरी धादिङका विस्थापितलाई ६ महिनासम्म पुनस्स्थापना गर्न करिब ४८ करोड खर्च हुने भएको छ। भूकम्पपछि बस्तीमा बस्न नसकेर सदरमुकाम लगायत स्थानीय स्तरमै शिविर स्थापना गरी बसेका पीडितलाई तत्काल आधारभूत आवश्यकतामा खर्च गर्न ६ महिने विस्तृत योजना स्थानीय प्रशासनले गृहसमक्ष स्वीकृतिका लागि पठाएको छ। गृहमन्त्रालयले शुक्रवार सम्म ६ महिने विस्थापित व्यवस्थापन योजना पठाउन निर्देशन दिएपछि सर्वदलीय छलफलले योजना तयार गरी पठाइएको हो।
विस्थापितलाई सदरमुकाममा उपयुक्त सार्वजनिक, सरकारी र ऐलानी जग्ग्गा नभएपछि भाडा तिरेरै निजी जग्गामा राखिने छ। आउन बाँकी विस्थापित परिवारलाई गाँस, बास, खानेपानी, गोरेटो बाटो, शौचालय, इन्धन, सुत्ने कपडा,खाना पकाउने भाँडाकुँडा र अस्थायी विद्यालयका लागि उक्त रकम खर्च गरिने प्रस्ताव छ।
‘ भूकम्पले जोखिमा पारेका निर्धारित उत्तरी भेकका ५ गाविस र अन्य ११ गाविस समेतका ६५ वस्तीका २५ सय घरधुरीलाई व्यवस्थित बस्तीमा परिणत गरी आधारभूत सेवासुविधा उपलब्ध गराउन तत्काल ४८ करोड १८ लाख रकम खर्च गर्नुपर्ने अनुमानित बजेट तयार गरिएको छ,’ जिल्ला विपद् व्यवस्थापनका अध्यक्ष प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वताए। आपत्कालिन कार्ययोजनामा आफ्नो गाउंमा वस्न नसक्ने सिफारिस गरिएका ३० वटा बस्तीलाई जिल्ला सदरमुकाम वरपरका विभिन्न निजी तथा सरकारी जग्गामा राखेर पहिलो चरणमा स्वास्थ्य, शिक्षा, खानेपानी, शौचालय, शिविरसम्म सडक, खाद्यान्न , परिवारका लागी खाना पकाउने भाँडाकुँडा त्रिपाल लगायत उपलब्ध गराइनेछ।