Fri. Nov 29th, 2024

आँखा स्वास्थ्य चेतना छर्दै धादिङबेसीमा तीज गीत प्रतियोगिता


धादिङ-

चस्मा लाउने बानी गरौं धुलो धुँवा छेकिन्छ,
हाम्रो आँखा स्वास्थ्य भए संचार देखिन्छ ।।
बारीभरी खेती गर्नु सागपात हुन्छ हरियो,
सागपात खाइ हाम्रो आँखा बनाम बलियो ।।

यो सन्देशमुलक गीतको शब्द कुनै चर्चित कलाकारले बनाएको होइन । धादिङबेसी सदरमुकामस्थित ज्योति महिला विकास समूहले मादलको तालमा छमछमी नाच्दै गाएको तीज भाका हो । आँखाको हेरचाहसँगै यो गीतले हराउँदै गएको मौलिकपनलाई सम्झाइदिएको छ ।

मुख्यगरी नेपालमा हिन्दू महिलाले मनाउने विशेष पर्व हो, हरितालिका तीज । यो चाड भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । हरितालिका तीजको दिन भगवान शिवको आराधना र नाचगानसँगै मनोरञ्जन गर्ने गरिन्छ । सदरमुकाम धादिङबेसीमा मनोरञ्जनसँगै धादिङ सामुदायिक आँखा केन्द्रले आँखा स्वास्थ्य सम्बन्धी तीज गीत प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा गाइएका गीतले आँखा स्वास्थ्य सम्बन्धी चेतना त दिएकै छ । वर्षाै पहिले हजुरआमाहरुले गाएका तीज गीतका लयको पनि स्मरण गराएको छ । उमेरले लगभग ५० नाघेका महिलाहरुलाई प्रतियोगिता जित्नैपर्छ भन्ने थिएन । ‘बजुबजैहरुले गाउने बरिलै… भाका अहिलेका केटाकेटीले सुन्नै पाएनन्’, हरिमाया लामिछानेले भनिन्–‘मौलिकताको जगेर्ना र स्वास्थ्य चेतना छर्न यो गीत बनाएँ ।’

हरितालिका तीजको दिन आँखा स्वास्थ्य चेतना सम्बन्धी तीज गीत प्रतियोगितामा भर्खरका युवतीहरुको समूह पनि थिए । उनीहरु केहीले चल्तीका लयमा गीत सुनाए केहीले मौलिक भाकानै रोजे । नीलकण्ठ–८ की कल्पना श्रेष्ठको समूहले गाएको गीत र लयले पनि हजुरआमाहरु कै झल्को मेटायो ।
दिनमा २/३ पटक धुनु आँखा चिसो पानीले,
दृष्टबिहिनबाट बचौं राम्रोे बानीले ।।
असर गर्छ आँखालाई जथाभावी दबाइले,
चस्मा लाउँदा पावर मिलाई लगाऔं सबैले ।।

एक दशक अघिको तीजमा सुनिने भाका र लय अहिले विरलै सुन्न पाइन्छ । थेगो विना शब्दहरुबाट मात्रै लय मिलाएर गाइने गीत गाउँघरबाट समेत हराइसकेको छ । हराउँदै गएको लय समाएर प्रतियोगितामा गीत गाउँदा बेग्लै अनुभव समेटेको श्रेष्ठले सुनाइन् । भनिन्–‘तीजको बेला हजुरआमा, आमाहरुले गाउँदा सुनेको भाका र लयमा गीत गाउँदा छुट्टै आनन्द आउने रहेछ ।’

उतिबेलाका तीजमा आमापट्टिका दिदीबहिनी या बापट्टिका दिदीबहिनीले घर भरिन्थे । चेलिबेटीले घरीभराउ घरका छरछिमेकी मिलेर आगनीमा छमछमी नाचगान चल्थ्यो । सासु ससुराको राम्रा नराम्रा सबै गुणगान गीतबाटै माइतीलाई सुनाउथे । अहिले त्यो जमाना फेरिएको छ । आधुनिकतासँगै भित्रिएको गाना बजानाले पुर्खादेखि चलिआएको रितिरिवाल नै भुल्न नहुने सावित्री कोइरालाले बताइन् ।

‘उतिबेलाको तीजमा साथीभाईस्ँग भेट्दा सँगैका साथीसंगीले दुःख पाएको, सासुले गाली गरेको, श्रीमानले हेला गरेको कुरा गीतबाटै सुन्न पाइन्थ्यो । तर प्रतियोगितामा यस्ता शब्दहरु नभेटिएपनि उही लय उही भाकामा जमाना अनुसारको परिस्कृत शब्दहरु भने प्रशस्तै सुनिए ।
धेरै मोबाइल हेर्न नदिउँ छोरा अनि छोरीलाई,
टिभी धेरै हेर्न पनि हुन्न बरिलै ।।

धादिङ सामुदायिक आँखा अस्पताल र तिलगंगा आँखा अस्पतालले आँखा स्वास्थ्य सम्बन्धी तीज गीत प्रतियोगिता गरेको हो । प्रतियोगितामा ज्योति महिला समूह प्रथम भएको छ भने प्रगतिशिल महिला समूह द्धितीय र क्रियाशिल पत्रकार महिलाको समूह त्रितीय भएको छ । प्रतियोगितामा छ समूह सहभागी थिए । सहभागी समूहलाई समेत नगदसहित पुरस्कृत गरिएको केन्द्रका प्रमुख रामसिंह तामाङले बताए ।

About The Author

अन्य समाचारहरु: