धादिङ– मतदाता नामावलीमा भएका त्रुटि सच्याउन जिल्ला निर्वाचन कार्यालय धादिङले समय तोकेको छ । भदौ १२ गते मतदाताको विवरण सार्वजनिक गर्ने र १९ गते सम्म सच्याइसक्नुपर्ने समय तोकेको हो ।
आगामी निर्वाचनको लागि मतदाता नामावली अध्यावधिक गर्ने कार्यक्रम अन्र्तगत प्रकाशित नामावलीमा रहेको त्रुटि सच्याउन र झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए दावी विरोध गर्ने मतदाताहरुलाई आग्रह गरेको छ । मृत्यु भईसकेका मतदाताहरुको विवरण हटाउन, नागरिकता त्याग भएको मतदाताको नाम हटाउन र झुटा विवरण दिएर मतदाता नमावलीमा दर्ता गराएको थाहा भए सच्याउन आग्रह गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख सन्तोष कुमार श्रेष्ठले बताए ।
दावी विरोधसहित उजुरी पनि दिन सकिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने र निवेदन बमोजिम जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने लगाएतका विषयहरुमा दावी विरोध गर्न सकिने श्रेष्ठले बताए । भदौ १२ गतेदेखि १९ गते सम्म संचालन हुने दावी विरोध कार्यक्रमलाई सफल बनाउनको लागि सबै जनप्रतिनिधी, राजनितिक दल, मतदाता, पत्रकार लगाएतलाई आग्रह समेत श्रेष्ठले गरेका छन् ।
मतदाता नामावली अद्यावधिक भएपछि आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि मतदाताको अन्तिम नामावली भदौ ३१ गते प्रकाशन गर्ने भएको छ । सरकारले आगामी मंसीर ४ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।