प्रतिमा तिमल्सिना
अघिल्लो साता मात्रै धादिङको सिम्लेमा एक जनामा हैजा पुष्टी भयो । केही व्यक्तिहरुमा लक्षण पनि देखियो । स्वास्थ्य कार्यालय, नेपाल रेडक्रसलगायत सरोकारवाला निकायले लक्षण देखिएको वस्तीमै पुगेर यो पटकको समस्या समाधान पनि गरिसकेको छ । तर, फेरी पनि हैजा फैलिन सक्ने संभावना भने कम भइसकेको छैन । प्रायजसो वर्षातको समयमा हैजाको समस्या देखिन्छ । किनकी जताततै पानीका मुहान पलाउछ, वर्षातको पानीले फोहोर पानी मुहानमा मिसिन्छ, त्यहि पानी पिउनाले मानिसको शरीरमा हैजाको जिवाणु प्रवेश गर्ने संभावना धेरै हुन्छ ।
हैजा के हो ?
हैजा भिब्रियो कोलेरा नामकजीवाणु हो । सामान्य भाषामा भन्दा हैजालाई झाडापखालायुक्त रोग भनेर बुझ्न सकिन्छ । हैजाको प्रकोप नेपाल जस्तो देशका लागि चिन्ताको विषय हो ।सुरक्षित खानेपानीको अपर्याप्त आपूर्ति र खुला दिसाको उच्च दरका कारण ग्रामीण तथा शहरी क्षेत्रमा हैजाको डर बढ्ने गर्छ । हैजा एक अत्याधिक चाडो सर्ने रोग हो । विशेषगरी फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ ।
हैजा लागेमा के हुन्छ
हैजाको जीवाणु मानिसको शरिरमा छिरेको १२ घण्टा देखि ५ दिनमा हैजाको लक्षण देखिन थाल्छ । जसमा लगातार पातलो चौलानी पानी जस्तो पखाला लाग्छ । एक्कासी वान्ता हुने, तिर्खा लाग्ने, पेट तथा खुट्टाका मांसपेशी बाउडिने जस्ता लक्षणहरु देखिन्छ । हैजा लाग्दा लगातार दिसा जानुका साथै पेटमा सुई घोचेको जस्तो पीडा अनुभूति गराउँछ ।सबैलाई पेट दुख्छ नै भन्ने चाही हुँदैन । हैजा लागेका व्यक्तिहरुमा पखाला अकस्मात देखा पर्छ र यसले तुरुन्तै शरीरभित्रका तरल पदार्थको क्षति पु¥याउन सक्छ ।बिरामीले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना बढी हुन्छ ।
हैजा एकदमै संक्रामक रोग हो । जसले तुरुन्तै पखाला निम्त्याउँछ । हैजाको संक्रमणको मुख्य स्रोत दूषित पानी हो ।हैजा रोगको किटाणुहरु यदि दूषित पानीमा परे भने अरूलाई पनि संक्रमण गर्न सक्छन् ।हैजाको जिवाणुबाट दूषित पानी वा खानेकुरा खायौ भने हैजाको जोखिममा पर्ने संभावना धेरै हुन्छ । विशेष गरी महामारीको बेला हैजा रोगबाट संक्रमित व्यक्तिको दिसाले पानी वा खानेकुरा दूषित भएको छ भने हैजाले प्रकोपको रुप लिन सक्छ । समयमै उपचार नपाए यो रोग तीव्र गतिमा फैलिन सक्छ ।स्वच्छ पिउने पानी र सरसफाइको राम्रो प्रबन्ध नभएको ठाउँहरूमा बसोबास गर्ने मानिसहरूलाई हैजाको खतरा बढी हुन्छ ।
हैजा रोगबाट कसरी बच्ने ?
हैजाको कारण लागेको पखालामा दिसा चामल पखालिएको पानीजस्तै सेतो देखिन्छ ।हैजा लागेका व्यक्तिले एक घण्टामा लगभग १ लिटर जति शरीरभित्रका तरल पदार्थ गुमाउँछन् ।
हैजाबाट बच्न हामीले हाम्रो खानपान तथा सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।विशेष गरी शौचालय प्रयोग गरेपछि र खाना खानु अघि र पछि साबुनपानीले हात धुनुपर्छ । यदि साबुन र पानी उपलब्ध छैन भने ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुपर्छ ।त्यस्तै पिउने पानीलाई उमालेर तथा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ । फोहोर, दिसा, पिसाबको राम्ररी व्यवस्थापन गर्नुपर्छ र पानीको मुहान छेउमा फोहोर गर्नु हुँदैन।
उपचार कसरी गर्ने?
कोलेरा लागेका बिरामीमा मुख्यगरी पानी र इलेक्ट्रोलाइट्सको कमी हुने हुनाले तरल पदार्थ पुनःस्थापनामा विशेष ध्यान दिनुपर्छ। जसका लागि सामन्य अवस्थामा जीवनजल पानी खुवाउने र आवश्यक परेमा सलाइन पानी दिनुपर्छ। साथै ल्याब रिपोर्टको आधारमा र चिकित्सकको सल्लाह अनुसार आवश्यक एन्टिबायोटिकहरु पनि दिन सकिन्छ।
हैजाको घरेलु उपचार पनि छ
अधिकांश मानिसहरूले हैजाको घरमै सजिलै उपचार गर्न सक्छन् । हामीले एक लिटर पानीमा एक प्याकेट जीवनजल मिसाएर हैजाका बिरामीहरूलाई दिन सकिन्छ ।आयुवेर्दिक चिकित्सकहरुका अनुसार घरेलु उपचार यसरी पनि गर्न सकिन्छ ।
– पुदिना र कालो मरिच पिसेर आधा चम्चाका दरले तातो पानीमा मिलाई खानाले हैजा निको हुन सक्छ ।
– रोगीको शरीरमा तेल लगाउनुपर्छ । जसले शीघ्र उल्टी तथा दिसा जान बन्द हुन्छ ।
– एक चम्चा शक्खर, आधा चम्चा नुन, आधा चम्चा कागतीको रस पानीसँग मिलाई बारम्बार रोगीलाई ख्वाउनुपर्दछ जसले शरीरमा पानीको मात्रा पूरा गर्न मद्दत गर्दछ ।
– यदि पिसाब कम आइरहेको छ भने आधा कप पानीमा आधा चम्चा खाने सोडा मिलाई खुवाउनुहोस् जसले पिसाब खुलेर आउन मद्दत गर्दछ ।
यदि तपाईलाई गम्भीर झाडापखाला लागेको खण्डमा तुरुन्तै नजिकको उपचार केन्द्रमा गएर डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ ।
(लेखकः नलाङ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट हुन् ।)