धादिङबेसीमा शनिबार मतयाः अर्थात हिलेजात्रा मनाइएको छ । झिगु नेवा समाज धादिङको आयोजनामा लाखे जात्रा सांस्कृतिक समुहले लाखेनाचसहित जात्रा मनाएको हो । गोरु र हलीसहित बजार परिक्रमा गरेर गठबन्धन सरकारलाई व्यङ्ग्य गरेका छन् ।
मानिसहरुबाटै सिगारेर बनेको एउटा गोरुलाई माधवकुमार नेपाल र अर्काे गोरुलाई पुष्पकमल दाहाल प्रचण्ड उपनाम दिँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई हली बनाएका थिए । नेवारी समुदायले निकालेको हिलेजात्रामा गोरुको काँधमा लगाउने जुवा, नारा, जोतारोले दुई जना व्यक्ति गोरु जस्तै सिंगारिएका थिए ।
रोपाइमा हिलो साउने साहाकाठ समेत लगाएर बजार परिक्रमा गरेका थिए । उनीहरुको अगाडि पछाडी लेखिएको थियो–‘गठबन्धन सरकार, शेरबहादुर देउवा हली, माधवकुमार नेपाल गोरु, पुष्पकमल दाहाल प्रचण्ड गोरु’ ।
जात्रामा बालबालिका, वृद्धवृद्धादेखि युवापुस्ताको बाक्लो सहभागिता थियो । झिगु नेवा समाजले शुक्रबार पनि गाइजात्रा मनाएको थियो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्वमा धादिङमा पनि विविध कार्यक्रम भइरहेको छ ।
हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।
घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो ।