धादिङ– न उठ्न सक्छिन् न बोल्न । धादिङ अस्पतालको बेडमा लडिरहेकी छिन् साङ्कोषकी जानुका कुमाल । नाबालक छोरा बाहेक उनको साथमा कोही छैन । दृटिविहिन श्रीमान थिए, ९ महिनाअघि मृत्यु भयो । माइतमा बुबा आमा छैनन् । छिमेकीले अस्पतालसम्म ल्याइदिए । आर्थिक अभावकै कारण थप उपचार गराउन सकेकी छैनन् ।
जानुका अहिले धादिङ अस्पतालको बेड नं. २३ मा छिन् । उठेर शौचालन जान सक्दिनन् । सात वर्षका छोरा प्रकाशले दिशा पिसाव गराउन सक्दैनन् । औषधी खुहाइदिने समेत कोही छैन । ४ दिनदेखि जानुका बेडमै थलिएकी छिन् ।
जानुकाको घर धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ कुमाल गाउँमा हो । उनी ५२ वर्षकी भइन् । अस्पतालका चिकित्सकहरुका अनुसार किड्नीमा समस्या छ । पिसावमा पनि खरावी छ ।
सहारा कोही नभएर छिमेकी हिरादेवी मगरले जसोतसो अस्पताल ल्याएपछि उपचार सुरु भएपनि आर्थिक अभाव र आफन्त नभएकै कारण थप उपचार गराउनबाट वञ्चित हुने अवस्थामा पुगेकी हुन् । अस्पताल ल्याइदिने छिमेकी हिरादेवी भन्छिन्–‘यो बैनीको घरमा कोही छैन । श्रीमान दुबै आँखा नदेख्ने थिए । तैपनि बजारतिर मादल बजाएर अलिअलि कमाउँथ्यो । श्रीमानको पनि मृत्यु भएपछि अहिले विचल्ली भयो ।’
आफुसँग भएको २ हजारले सुरुकै दिन औषधी किनेर सकिएको हिरादेवीले सुनाइन् । ‘सधै म पनि आउन भ्याउँदिन । किड्नी र पिसाबमा समस्या छ भन्नुभएको छ, पैसाको छैन । यसलाई घर फर्काएर लान सकिएला जस्तो छैन’, हिरादेवी भन्छिन्–‘आमाको त विचल्ली भयो नै नाबालाक छोराको पनि विचल्ली हुने भयो ।’
आफन्त इस्टमित्र कोही नभएको भनेपछि अस्पतालको सामाजिक सुरक्षा ईकाइ कार्यक्रममार्फत सुरुको अवस्थामा अस्पतालले नै निःशुल्क उपचार गराएको छ । सामाजिक सुरक्षा ईकाइ मार्फत खर्च गर्न मिल्ने भन्दा धेरै उपचार खर्च भइसकेकोले थप उपचार गराउन कठिन भएको अस्पतालका सुचना अधिकारी विक्रम वि.क.ले बताए ।
‘अस्पताल ल्याएर छोड्नेमान्छेले कोही छैन भनेपछि सामाजिक सुरक्षा ईकाइबाट उपचार सुरु गराए’ सुचना अधिकारी विकले भन्छन्–‘अन्तरंग शाखामा भर्ना भएका विरामीलाई निर्देशिका अनुसार ४ हजारसम्मको उपचार खर्च निःशुल्क गराउन पाइने नीति छ । १२ हजार जति खर्च भइसक्यो । सक्नेजति उपचार गरिरहेका छौं । थप उपचारको लागि काठमाडौ लानुपर्ने स्थिति छ ।’ अबको थप उपचार निःशुल्क गराउन नसकिने र थप उपचार नगराए अवस्था झन विग्रिदै जाने विकले बताए ।
साधारण वार्डमा कार्यरत नर्सिङका स्टाफहरुले नै दिशा पिसाव स्याहारिरहेका छन् । जानुका सुतेको बेडमा नाबालक छोरा सँगै बसिरहन्छन् । तर बेडमा थलिएकी आमाको मुख हेरेर बस्न बाहेक अनको कुनै उपाय छैन । हातैको इसाहारा लगाएरै भएपनि जानुकाले जिवन रक्षा निम्ती अपिल गरिरहेकी छन् ।
गाउँका चिनेका मान्छेहरु कहिलेकाही आइपुग्ने रहेछन् । तर उनको उपचारमा कसैले चासो देखाएका छैनन् । अस्पतालको बेडमा विरामी आमासँगै बसिरहेका नाबालक भन्छन्–‘मेरो आमा त उठ्नु भएकै छैन ।’ ‘अब कहिल्यै उठ्न सक्नुहुन्न त ?, किन सुतेको सुतेई गरेको हाम्रो आमाले ? जस्ता अनेकन सोधिरहन्छन् । तर उनको जिज्ञाशाको जवाफ कसैले दिन सकेका छैनन् ।