काठमाडौं : सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ९.७५ अंकले ओरालो लागेको छ।
नेप्से सामान्य अंकले घटेपनि कारोबार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ।
यसदिन २३४ कम्पनीको १ करोड ९ लाख ८१ कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँमा खरिद बिक्री भयो।
आइतबार २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर दुई अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँमा खरिदबिक्री भएको थियो।
सो दिन नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा बन्द भएको थियो। नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको थियो।
यसदिन सेन्सेटिभ इन्डेक्स २.६८ अंकले घटेको छ।
कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। सो कम्पनीको साढे १७ करोड बढी मूल्यको सेयर कारोबार भएको छ।
त्यसैगरी, हिमालयन डिष्टिलरीको करिब १७ करोडको सेयर किनबेच गरी दोस्रो स्थानमा रह्यो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्यो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.१० प्रतिशत बढेको छ।
सूचक ओरालो लागेपनि दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सीवाईसी लघुवित्त संस्था र ङादी ग्रुपको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशत बढेको छ। यसैगरी साल्ट ट्रेडिङ्ग कर्पोरेसन र विशाल बजार कम्पनीको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।
युनियन हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य भने ६ प्रतिशतभन्दा बढी घटयो।