धादिङ– ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर गुरुङ विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट बागी उठेका गुरुङले कांग्रेसकै आधिकारिक उम्मेदवार कृष्णलाल श्रेष्ठलाई दोब्बर भन्दा बढी मतले पराजित गराएका छन् । कांग्रेसले टिकट नदिएपछि खरायो चिन्ह लिएर चुनाव लडेका गुरुङले ११ सय ३० मत ल्याएका छन् । यो कांग्रेसका आधिकारिक उम्मेदवार श्रेष्ठको भन्दा ५ सय ९१ मत बढी हो ।
कांग्रेसबाट टिकट पाएका उम्मेदवार श्रेष्ठले ५ सय ३९ मत पाएको ज्वालामुखी गाउँपालिकाका निर्वाचन अधिकृत हिरामणि सुवेदीले जानकारी दिए । गुरुङका अर्का प्रतिष्पर्धी नेकपा एमालेका ताराबहादुर अर्यालले ५ सय ९४ मत प्राप्त गरेका छन् ।
अहिले स्वतन्त्रबाट विजयी भएका गुरुङ २०७४ सालको स्थानीय चुनावमा कांग्रेसबाटै टिकट लिएर विजयी भएका वडा अध्यक्ष हुन् । पार्टीमा टिकट माग्दा नदिएपछि जनताको माग अनुसार नै स्वतन्त्र उम्मेदवार बनेको उनले बताए ।