Thu. Nov 28th, 2024

वृद्ध मतदाताहरु भन्छन्– ‘भोट त हाल्नै पर्‍यो नी’

धादिङ – नीलकण्ठ नगरपालिका–८, रामकोटका छविलाल श्रेष्ठ शुक्रबार नातीको पिठ्युँ चढेर मतदान स्थल पुगे । उमेरले ९३ वर्ष पार गरेका छविलाल नातीको पिठ्युँ चढेरै मतदानमा सहभागी हुन पाउँदा खुसी पनि छन् । छविलाल भन्छन्–‘अर्काे साल के हो के, बाँचुन्जेल त आफुले चाहेको सही व्यक्तिलाई भोट हाल्नु पर्‍यो नी ।’

एक्लै हिँडडुल गर्न नसक्ने भएपनि गाउँकै नाती पनि उम्मेदवार भएकोले नातीको पिठ्युँ चढेरै मतदान गर्न आएको प्रतिकृया दिए । ‘हजुरबुवाकै सल्लाहमा यसरी बोकेर मतदान केन्द्रसम्म ल्याएँ, हजुरबुबाले नै रोज्नुभएको चिन्हहरुमा छाप लगाएर गोप्य मतदान गरेको छु’, छविलालका नाती कृष्णमान श्रेष्ठले भने ।

नीलकण्ठ नगरपालिका–८ कै सिमलघारीका कृष्णमान श्रेष्ठ पनि शुक्रबार छोराको पिठ्युँ चढेरै अप्ठ्यो ओरालो बाटो झर्दै थिए । अघिल्लो निर्वाचनहरुमा पैदल आफैँले मतदान गरेका ८७ वर्षीय कृष्णमानको भोट पनि छोराले नै हालिदिए ।

बुबाले चाहेको उम्मेदवार जिताउन बुबाकै सल्लाह अनुसारको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइदिएको कृष्णमानका छोरा लक्ष्यबहादुरले बताए । मतदानबाट बञ्चित नहाऔं भन्ने पनि बुझेका रहेछन् । ‘पहिला पहिला पनि रेडियो टिभीले मतदान गरौं भनेको सुनेकै थिए, यस्पाली झनै मैले चिनेको मान्छे उठेको छ’, कृष्णमानले भने–‘त्यै भएर पनि सकिनसकी आए ।’

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को रत्नदेवी आ.वि. मतदान स्थलमा छविलालले जस्तै पिठ्युँ चढेर आउने थुप्रै भेटिए । जो बाचुन्जेल मताधिकार प्रयोग गर्न चाहन्थे । ८९ वर्षीय मायादेवी श्रेष्ठ पनि तीनै मध्यकी हुन् । छोरा पूर्णलाल श्रेष्ठ र नातीहरुको हातमा झुण्डिएरै सकिनसकी उनी मतदान केन्द्र पुगेकी थिइन् ।

About The Author

अन्य समाचारहरु: