Fri. Feb 28th, 2025

गोरखामा दुई वटा पुल सञ्चालनमा

गोरखा  – गोरखाको दुई ठाउँमा नयाँ मोटर जाने पुल निर्माण सम्पन्न भएको छ । बारपाक पुग्ने सडकखण्डको बालुवा–सौरपानी जोड्ने दरौँदी नदीमाथि र मसेल–श्रीनाथकोट जोड्ने दरौँदी नदीमाथि निर्माण सम्पन्न भएको पुल हिजोदेखि सञ्चालनमा आएको हो । मसेल–श्रीनाथकोट जोड्ने पुल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्छ ।

जिल्लास्थित ११ किलो भालुस्वाँरा सडक आयोजनाले आठवटा पुलको निर्माण सुरु गरेको थियो । तीमध्ये दुईवटा पुल निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार अन्य ६ वटा पुलको निर्माणाधीन छन् । ७८ मिटर लम्बाइ भएको बालुवास्थित पुल रु तीन करोड २८ लाखमा निर्माण सम्पन्न भएको हो ।

साथै भालुस्वाँरा पुल भने रु दुई करोड ४६ लाख लगानीमा निर्माण सम्पन्न भएको छ । “साढे तीन वर्षमा पुल निर्माण सम्पन्न भयो”, खत्रीले भन्नुभयो, “पुल भएर गाडी सञ्चालनमा आएको छ ।” पुल निर्माणसँगै मध्यपहाडी लोकमार्गको घ्याम्पेसाल–चोरकाटे–पालुङटार क्षेत्रमा सहज रुपमा सवारी आवागमन हुने भएको छ ।

त्यस्तै बारपाक सडकखण्ड पनि सञ्चालनमा सजिलो भएको छ । पुल नहुँदा दरौँदी नदी तरेर यात्रुवाहक तथा मालवाहक गाडीहरु बारपाक पुग्नुपर्ने बाध्यता थियो । नदी पार गर्न नसक्दा साना गाडीहरु बारपाक पुग्न सकेका थिएनन् ।  पुल सञ्चालनमा आएपछि यात्रुलाई सजिलो भएको छ । साथै आयोजनाले गोरखाको देउराली जोड्ने पुल निर्माण पनि आगामी वर्ष सक्ने जनाएको छ । सोतीखोलामाथि निर्माणाधीन पुल निर्माणको काम यसै वर्ष सक्ने र त्रिशूली नदीमाथि मकैसिङ जोड्ने पुलको कामलाई तीव्र गतिका साथ अघि बढाउने खत्रीले बताउनुभयो । रासस

About The Author

अन्य समाचारहरु: