धादिङ– नेपाली कांग्रेसमा वडा तहमा पनि बागी उम्मेदवार प्रतिष्पर्धीका रुपमा देखिएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रमेश कोइराला विरुद्ध कांग्रेसबाटै विद्रोह गरेर प्रकास कुमार श्रेष्ठले तीव्र प्रचार थालेका छन् ।
कोइराला र श्रेष्ठ पहिलो स्थानीय निर्वाचनमा कांग्रेसबाट वडासदस्यका विजयी जनप्रतिनिधि हुन् । दुबैजना जनप्रतिनिधि भइसकेका उम्मेदवार भएकाले कांग्रेसको आधिकारिक उम्मेदवार कोइराला र कांग्रेससँगै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी कायम राखेका श्रेष्ठबीच दरिलो प्रतिष्पर्धा हुने देखिएको छ ।
जिल्लाका एक सय चार ओटा वडा मध्य नीलकण्ठ–८ मा कांग्रेस विरुद्ध स्वतन्त्र उम्मेदवार श्रेष्ठलाई सबैभन्दा दरिलो मानेका छन् । नीलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार भीमप्रसाद ढुंगानाको जन्मस्थल रहेको यो वडा कांग्रेसको सबैभन्दा बलियो वडा पनि हो ।
वडा अध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई वटै खुल्ला सदस्यमा पनि बागी उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार पाँचै जनाको टिमले चुनाव चिन्ह भुइकटहर लिएका छन् । उनीहरुले चुनाव चिन्ह पाएदेखि नै तीव्र प्रचार गरिरहेका छन् । वडा अध्यक्षदेखि सबै सदस्यहरुमा समेत बागी हाल्ने यो धादिङ जिल्लाको एक मात्रै वडा हो । रुख चिन्हमा भने वडा अध्यक्ष बाहेक अन्य पदमा उम्मेदवार नै छैनन् । वडामा एक्लो उम्मेदवार बनेका कोइरालाले पनि मंगलबारबाट प्रचार सुरु गरेका छन् ।
यसअघि वडा सदस्य भइसकेका कोइरालाको विरुद्ध साविकमा निर्वाचित वडा अध्यक्ष गुणबहादुर थपलियासहितको समूह नै लागेको छ । यस पटक उम्मेदवार नबनेका वडा अध्यक्ष थपलियासँगै अन्य सदस्यहरुले पनि वडाबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार श्रेष्ठको पक्षमा प्रचार थालेका छन् ।
कांग्रेसभित्रको झगडाले रुख चिन्हका उम्मेदवारमा बागी परेपछि हालसम्म सधै कमजोर मानिएका नेकपा एमाले पनि यो पटक जुर्मुराएर लागेका छन् । नीलकण्ठ–८ को वडा अध्यक्षमा एमालेले कांग्रेसबाट बागी परेकै श्रेष्ठको छिमेकी गाउँबाट जित बहादुर कुमाललाई उम्मेदवार बनाएको छ । कांग्रेस फुटेको बेलाको मौका छोप्दै एमालेले राप्रपाको साथ लिएर चुनाव जित्ने तरखरमा लागेको छ ।
यो वडामा करिब २९ सय मतदाता छन् ।