काठमाडौँ — संविधानको मौलिक हकमा महिलाको समानुपातिक सहभागिताको व्यवस्था भए पनि स्थानीय तह निर्वाचनको प्रमुख तीन पद नरप्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षमा महिलाको उम्मेदवारी १० दशमलव ४१ प्रतिशतमात्रै परेको छ ।
निर्वाचन आयोगले मंगलबार साँझमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा ४६ हजार १ सय १४ जनाको उम्मेदवारी परेको हो ।
यसमा महिला उम्मेदवार ४ हजार ८ सय ४ जना मात्रै छन् । प्रमुख र अध्यक्षमा ६ हजार ८ सय ४३ जनाको उम्मेदवारी पर्दा महिलाको संख्या ४ सय ५८ अर्थात् ६.६९ प्रतिशत मात्रै छ । यो संख्या स्वतन्त्र उम्मेदवारको पनि हो । अध्यक्षमा १ हजार ३ सय ७७ र प्रमुखमा १ हजार २४ गरी स्वतन्त्र उम्मेदवारी दिने २ हजार ४ सय १ जना छन् ।
दलगत र स्वतन्त्रमा महिला र पुरुष कतिले उम्मेदवारी दिए भन्ने अझै यकिन भएको छैन । अघिल्लो स्थानीय तहको निर्वाचनबाट ४१ प्रतिशत भन्दा बढी महिला जनप्रतिनिधि निर्वाचित भएकोमा यसपाली मनोनयन दर्ता गर्ने नै ३७.७७ प्रतिशत मात्रै छन् ।
मंगलबार साँझसम्म ६६ जिल्लाको स्थानीय तहको तथ्याङक अध्यावधिक हुँदा १ लाख ४९ हजार ४ सय ९० जनाको उम्मेदवारी परेको छ । यसमा पुरुष ९३ हजार १३ र महिला ५६ हजार ४ सय ७७ जना अर्थात् ३७ दशमलव ७७ प्रतिशत छन् । यो संख्या २५ हजार ८ सय ८९ महिला सदस्य समेत जोड्दा आएको हो ।