धादिङ – मनोमयन दर्तामा धादिङका दलहरुले पञ्चेबाजा घन्काएका छन् । अधिकांश दलका उम्मेदवारहरुले बाजागाजा सहित तामझामसहित मनोनयन दर्ता गराएका छन् ।
प्रायः विवाह, ब्रतबन्ध जस्ता शुभकार्यमा बजाइने पन्चेबाजालाई दलका कार्यकर्ताले पनि शुभसाइत मानेर बजाएका हुन् । नेकपा एमालेबाट नीलकण्ठ नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिन जाने क्रममा पञ्चेबाजा बजाए ।
एमालेले मात्रै होइन, नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादीलगायत दलका उम्मेदवारले पनि प्रायः ठाउँमा बाजागाजासहित नै निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । प्रायः आफ्ना समर्थक र कार्यकर्तासँग मनोनयन दर्ता गर्न जाने चलन भएपनि धादिङका प्राय दलहरुले पन्चेबाजा नै घन्काएका छन् ।
धादिङमा रहेको २ नगरपालिका र ११ गाउँपालिकामा नेकपा एमालेले एक्लै उम्मेदवारी दिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् ।
जिल्लामा रहेको २ नगरपालिका सहित १३ स्थानीय तह मध्य कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुख लिएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा समाजवादीले लिने भएका छन् ।
प्रदेश स्तरीय ५ दलिय गठबन्धनको निर्णय बमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुंगो लगाएर त्यहि अनुसार मनोनयन दर्ता गराइएको एकिकृत समाजवादी धादिङका इन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले बताए ।