शंकर श्रेष्ठ
धादिङ- स्थानीय तह निर्वाचनको लागि मनोनयनको पहिलो दिन धादिङमा केही स्वतन्त्र उम्मेदवार र गठबन्धनमा समेत नपरेका साना दलले मात्रै मनोनयन दर्ता गरेका छन् ।
गठबन्धनले समयमै पालिका प्रमुख र उपप्रमुखको भागबण्डा मिलाउन नसक्दा र एक्लाएक्लै मैदानमा उत्रिन लागेका दलहरूमा पनि उम्मेदवार टुंगो नलाग्दा आइतबार मनोनयन दर्ता गराउन नसकेको हो ।
एक साता अघिदेखि चुनावी तालमेलको छलफलमा बसेका ठगबन्धनका दलहरुले मनोनयन नै दर्ता गरेका छैनन् । एक्लै मैदानमा उत्रिन लागेको नेकपा एमाले र अघिल्लो निर्वाचनमा धादिङबाट देशभरकै साख जोगाएको राप्रपाले पनि मनोनयन दर्ता गराएको छैन ।
चर्चामा नरहेका साना दलहरुले वडा स्तरमा छिटफुट मनोनयन दर्ता गराएपनि पालिका तहमा भने मनोनयन शुन्य नै छ । प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद रुवालीले भने–‘चर्चामा नरहेका साना दलले केही वडाहरुमा वडा अध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराएको छ, प्रमुख भनिएका दलबाट मनोनयन दर्ता भएको छैन ।’
एमालेले सिद्धलेक बाहेक उम्मेदवार टुंगो लगाएको धुनिबेसी नगरपालिका, गल्छी गाउँपालिका र गंगाजमुना गाउँपालिकामा भने मनोनयन दर्ता गराएको छैन । आकांक्षीहरु धेरै भएर उम्मेदवार टुंग्याउनै सकस परेकोले आइतबार मनोनयन दर्ता गराउन नसकिएको एमाले कार्यालय सचिव भरत ढुंगानाले बताए । सोमबार विहानसम्म उम्मेदवार ढुंग्याएर दिउसो मात्रै मनोनयन दर्ता गरिने उनले बताए ।
गठबन्धनसँग एमाले एक्लै
धादिङमा तीन दलबीच गठबन्धनको टुंगो लागेपनि नेकपा एमाले एक्लै चुनावी मैदानमा जाने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन गरेर जिल्लाको नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको टुंगो लगाएको हो ।
जिल्लामा रहेको २ नगरपालिका सहित १३ स्थानीय तह मध्य कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुख लिएर जिल्लास्तरीय गठबन्धनमा हस्ताक्षर गरेका हुन् । जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा समाजवादीले लिने भएका छन् ।
प्रदेश स्तरीय ५ दलिय गठबन्धनको निर्णय बमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुंगो लगाइएको एकिकृत समाजवादी धादिङका सचिव सुवास खतिवडाले बताए । सहमतिपत्रमा नेपाली कांग्रेसका सभापति रामनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शालिकराम जमरकट्टेल र नेकपा समाजवादीका जिल्ला इन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले हस्ताक्षर गरेका छन् । गठबन्धनले वडा तहमा भने पालिका स्तरीय कमिटिलाई नै भागबण्डाको जिम्मा लगाएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लामा बहुमत ल्याएको नेकपा एमालेलाई एक्लाउने दाउमा गठबन्धन दलहरु लागि परेका छन् । २०७४ को निर्वाचनमा प्रमुख बनेको एमालेले ढाल्न कांग्रेस, माओवादी र समाजवादी एक भएर चुनावी मैदानमा जाने भएपछि एमाले एक्लै बनेको छ ।
दलहरु गठबन्धन गरेर वडास्तरदेखि समन्वय समिति र प्रतिनिधिसभा निर्वाचनमा समेत एक भई एमालेलाई एक्लाउने दाउमा छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा तीन पालिकाको नेतृत्व जितेको नेपाली का“ग्रेस गठबन्धन गराएर नेतृत्व पोल्टामा पार्ने दाउमा छन् । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी भन्छन्,–‘अब हामी नमिलेर विकल्प छैन, जुनसुकै हालतमा गठबन्धन बनाएर चुनावमा जान्छौ“ ।’
जिल्लाको दक्षिणी भेग एमालेको राम्रो पकट क्षेत्र हो । तर अहिले एमाले विभाजित भएको अवस्थामा धक्का पर्नेछ । दक्षिणी भेगको धुनीबेसी नगरपालिका, थाक्रे, गल्छी र गजुरी गाउ“पालिका अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको स्थानीय तहहरु हुन् । एमाले विभाजनपछि धुनीबेसीको मेयर, उपमेयर, गल्छी गाउ“पालिकाका अध्यक्ष, गजुरी गाउँपालिकाका उपाध्यक्षले एकिकृत समाजवादी रोजेका थिए । त्यसले पनि एमालेको आफ्नो साखलाई जोगाइराख्न हम्मे छ । का“ग्रेस त्यसको फाइदा लिने दाउमा छन् भने एकिकृत समाजवादी जसरी पनि एमाले हराउने अभियानमा छन् । माओवादी केन्द्र भने जता अवसर त्यतै दौडिरहेका छन् ।
एकिकृत समाजवादी धादिङका इन्चार्ज गुरुप्रसाद बुर्लाकोटी भन्छन्,–‘अहिलेको गठबन्धन जहा“ जो संग मिलेर होस् एमाले हराउने हाम्रो अभियान हो ।’ गठबन्धन गर्दा एकिकृत समाजवादीलाई फाइदा पनि हुनेछ ।