काठमाडौ – उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पपीडित सबै विद्यार्थीलाई कक्षा ११ र १२ मा छात्रवृत्ति दिने भएको छ । घरपायक नभएका विद्यार्थीलाई प्लस टुमा आवाससहितको छात्रवृत्ति दिइने जानकारी परिषदका अधिकारीले दिएका छन् ।
परिषदको बैठकले भूकम्पबाट अभिभावक, आमा, बुबा र घर गुमाएका तथा घाइते भएका विद्यार्थीका लागि कक्षा ११ र १२ निःशुल्क अध्ययन गराउने निर्णय गरेको हो । सरकारले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुंगालाई भूकम्पबाट अति प्रभावित जिल्लाका रूपमा घोषणा गरेको छ ।
ुभूकम्प पीडितको प्रमाणपत्र पेस गर्ने सबैलाई छात्रवृत्ति दिन लागेका छौं,ु परिषदका सम्बन्धन महाशाखा प्रमुख गोविन्द खनियाँले भने । छात्रवृत्तिको निवेदन दिने अवधि शुक्रबारसम्म मात्रै छ । यसका लागि गाविस वा नगरपालिकाको वडा कार्यालयबाट सिफारिस, विद्यालयको सिफारिस तथा जिल्ला दैवी प्रकोप उद्धार समितिले क्षतिको वर्गीकरण गरेको प्रमाणित सिफारिस आवश्यक पर्ने खनियाँले बताए । परिषद्मा पेस गरेको प्रमाणका आधारमा आवास सुविधासमेत उपलब्ध गराएर निःशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने परिषद्ले जनाएको छ ।
परिषद्ले यसअघि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि मात्रै छात्रवृत्ति दिने गरेको थियो । भर्ना भएका विद्यार्थीमध्ये तीन प्रतिशतलाई छात्रवृत्ति दिने गरिएको थियो । परिषदको सिफारिसमा गत वर्ष ५ हजारभन्दा बढीलाई छात्रवृत्ति दिइएको थियो । परिषदले यसवर्ष भूकम्प पीडित सबै विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको हो । त्यसबाहेक विगतमा दिइँदै आएको सामुदायिक र निजी विद्यालय अध्ययन गरेका गरिब र जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति पनि यथावत् छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि प्लस टुमा प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने जनाएको छ । मन्त्रालयमा बजेट माग गरेका छौं, परिषदा सदस्यसचिव रामहरि लामिछानेले भने, स्वीकृत हुनेबित्तिकै भूकम्पपीडितका लागि छात्रवृत्तिको व्यवस्था गर्नेछौं ।
स्वेदशी मात्रै होइन, विदेशी संस्था र निकायले समेत भूकम्पपीडितलाई छात्रवृत्तिमा विदेश अध्ययन गर्ने अवसर प्रदान गरेका छन् । शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाका उपसचिव गोविन्द शर्माका अनुुसार मलेसियाको एक प्राविधिक शिक्षालयले २० जनाका लागि छात्रवृत्ति दिने प्रस्ताव गरेर विद्यार्थी माग गरेको छ ।
व्यक्तिगत, संस्थागत र सरकारी निकायले भूकम्प पीडितका लागि छात्रवृत्ति दिने घोषणा गरेकाले सुविधा पाउने व्यक्ति दोहोरिन सक्ने भन्दै सरोकारवालाले चासो देखाएका छन् । एकै जनाले व्यक्तिगत रूपमा र सरकारी छात्रवृत्ति पाउन सक्ने भन्दै छात्रवृत्ति बैंकमार्फत प्रदान गर्न उपयुक्त हुने विज्ञहरू बताउँछन् ।
झापा सुरुङगाका राजेश सुवेदीले छोरा सुनीलकुमारको सम्झनामा पाँच जना भूकम्प पीडितलाई विज्ञान संकाय अध्ययन गराउने घोषणा गरेका छन् । उनका छोराको दुई वर्षअघि भारतको सिलोङमा मृत्यु भएको थियो । छोराको सम्झनामा उनले छात्रवृत्ति कोष खडा गरे । गत वर्षसम्म गरिब र जेहेन्दार विद्यार्थीलाई प्रदान गरे पनि यसपालि भूकम्पपीडित परिवारका छोराछोरीलाई दिने उनले जनाएका छन् । यो छात्रवृत्ति पाउन भूकम्प प्रभावित जिल्लाबाट प्रथम श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्छ । ुछोराको सम्झनामा दिँदै आएको छात्रवृत्ति यसपटक भूकम्प प्रभावित विद्यार्थीलाई दिने निधो गरेको छु,ु उनले भने । यो छात्रवृत्ति उनको लगानी रहेको एभरेस्ट फ्लोरिडा कलेजबाट पाउने व्यवस्था गरिएको छ । यस्तै, भरत चौधरीले पनि महावीर चौधरी स्मृति छात्रवृत्ति भूकम्पपीडित पाँच जना विद्यार्थीलाई प्रदान गर्ने घोषणा गरेका छन् । कान्तिपुरबाट