Thu. Nov 28th, 2024

हिमाली वस्ती रुविभ्यालीमा अहिलेसम्मकै नौलो चुनावी प्रचार !

शंकर श्रेष्ठ
धादिङ–
विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले आफ्ना दलबलसहित शुक्रबार सेर्तुङ पुगेका छन् । नेकपा एमालेसँगको विद्रोहपछि बनेको नेकपा एकिकृत समाजवादीले यस्तो एक वडाबाट अर्काे वडा जाने नौलो अभियान चलाएको हो ।

प्रचारमा अगुवा नेता मात्रै होइन एउटा गाउँका सबै मिलेर अर्काे गाउँ पुग्ने गरेका छन् । शुक्रबार रुविभ्याली–१ र २ का नेकपा एस निकट मतदाता समेत करिब ४ घण्टा पैदल हिँडेर रुविभ्याली–३ को सेर्तुङमा प्रचार गर्न पुगेका हुन् ।

दलहरुको प्रचार अघिल्ला निर्वाचनहरुको भन्दा यस पटक फरक देखिएको छ । उम्मेदवारको टुंगो लागिसकेपछि केही कार्यकर्ताको साथमा उम्मेदवार नेताहरु गाउँ वस्तीमा डुल्थे । एउटा वडाको मतदाता अर्काे वडामा प्रचारको लागि पुगेको खासै देखिदैनथियो । तर, यो पटक हिमाली वस्ती रुविभ्यालीका स्थानीय नेताहरु मतदातासहित एक वडाबाट अर्काे वडामा प्रचारको लागि हिँडिरहेका छन् ।

रुविभ्याली गाउँपालिका–१, तिप्लिङबाट रुविभ्याली–३, सेर्तुङमा दलबलसहित पुगेका जीवन तामाङ भन्छन्–‘अब उम्मेदवार नेतृत्वले होइन मतदाताले छान्ने हो त्यसैले हामी पार्टीमा आस्था राख्नेहरु सबैजना गाउँगाउँ डुलिरहेका छौं । मतदातासँग नै उम्मेदवार खोजिरहेका छौं ।’

दृष्य हेर्दा लाग्छ मतदान हुने दिन आउन केही दिनमात्रै बाँकी छ । एउटा चुचुरो काटेर अर्काे बस्ती पुगेका नेता कार्यकर्तालाई स्थानीयहरुले पनि राम्रै आश्वासन दिने रहेछन् । काँधमा झण्डा बोकेर चुनावी प्रचारमा पुगेका मेन घलेलाई रुविभ्याली–३ अल्यानटोलका एकजना मतदाताले भने– ‘जे छ मनमा छ काका चिन्ता नगर्नुस् । हामी आउँछौं ढुक्क साथ हिड्नुस्् ।’

आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा बोकेका नेता कार्यालताको लावालस्करले गाउँमा चुनावको रौनक बेस्सरी लताएको छ । २०७४ को स्थानीय चुनावमा राप्रपाका उम्मेदवार विजयी भएको रुविभ्यालीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेले पनि जोडतोडका साथ प्रचार गरिरहेको छ । महिला, पुरुष, युवा युवतीको उत्साहपूर्ण लस्कर झट्ट देख्दा लाग्छ ‘यो पटक पनि रुविभ्यालीमा कुनै पार्टीलाई पनि सहज छैन ।’

एमाले केन्द्रिय सदस्य खेम लोहनी, संविधानसभा सदस्य धनबहादुर घलेसहितका नेताहरु तीनदिनदेखि हिमाली वस्तीहरु मै प्रचारको लागि घुमिरहेका छन् । खनियाबास हुँदै शुक्रबार रुविभ्याली पुगेका लोहनीसहितका नेताहरु पनि यो पटक रुविभ्यालीलाई आफ्नो पक्षमा ल्याउन मरिमेटेर लागेका छन् । ‘जिल्लाभरी नै समानान्तर ढंगबाट कार्यक्रमहरु अघि बढिरहेकै छ’, एमाले धादिङका उपसचिव राधिका सापकोटा भन्छिन्–‘यतिबेला शहर भन्दा विकट वस्तीहरुमै धेरै कार्यक्रमहरु गरिरहेका छौं ।’

माओवादीका रामसिंह तामाङसहितका नेता कार्यकर्ता पनि रुविभ्यालीका वस्तीहरुमा विभिन्न गतिविधि गरिरहेका छन् । मतदाताको घरघरै पुगेर आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न भनिरहेका छन् । उम्मेदवारको टुंगो लगाउनु पहिलेदेखि नै यस्तो प्रचारले यो पटक रुविभ्यालीसहित उच्च पहाडी र हिमाली वस्तीमा चुनावले ढपक्कै पारेको प्रष्ट देखिएको छ ।

नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे पनि चुनावी प्रचारकै लागि शुक्रबार सेर्तुङको सदाचेत पुगेका छन् । शुक्रबार खनियास र रुविभ्यालीका ठाउँ ठाउँमा चुनावी सभा गरेर उनी फर्किएका छन् ।

नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई ग्रामीण वस्तीहरुतिरै लक्षित गराएको छ । कांग्रेसका जिल्ला भक्त लामा र बासु तिमल्सिना पनि उत्तरी बस्तीहरुमै व्यस्त छन् । चैत २१ गतेभित्र उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरिसक्नेपर्ने भएकोले धेरैजसो नेताहरु सदरमुकाम आसपासमै छन् ।

राप्रपाका नेता कार्यकर्ता पनि आफ्नो पार्टीको प्रभाव जमाउने गरी ‘चुनावी मिसन’ मा छन् । पहिलो स्थानीय चुनावमा रुविभ्यालीबाटै आफ्नो साख जोगाएको राप्रपाले यस पटक पनि दोहो¥याउने दाउमा छ ।

प्रमुख पार्टीका प्रभावशाली नेता र कार्यकर्ताको गाउँ प्रवेशसँगै सम्भावित चुनावी परिदृष्यको बारेमा चोक चौतारा, चियापसल र मेलापातमा समेत छलफल तीव्र बनेको छ  । धादिङमा नेपाली का“ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी सकृय छ ।

निर्वाचन कार्यायको तथ्यांक अनुसार धादिङमा २ लाख ७३ हजार १ सय ९३ मतदाता छन् । त्यसमध्य तामाङ समुदायको बाहुल्यता रहेको रुविभ्यालीमा जिल्लाको १३ पालिका मध्य सबैभन्दा थोरै ८ हजार ८ सय ७८ जना मतदाता छन् ।

About The Author

अन्य समाचारहरु: