Mon. Mar 10th, 2025

बूढीगण्डकीको लागत अद्यावधिक गर्दै सरकार

काठमाडौं : सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत अनुमान अद्यावधिक गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले नेपाल विद्युत प्राधिकरण अन्तरगतको एनईए इन्जिनियरिङ कम्पनीलाई लागत अनुमान अद्यावधिक गर्न जिम्मा दिने बारे छलफल अघि बढाएको छ ।

२०७३मै बूढीगण्डकीको करिब ३ खर्ब ११ अर्ब रूपैयाँ (२ हजार ५९३ मिलियन अमेरिकी डलर) मा आयोजना बनाउन सकिने गरी लागत अनुमान तयार भएको थियो । करिब ६ वर्षमा डलरको मूल्यमा भएको वृद्धि र निर्माण सामग्री र लागतमा भएको बढोत्तरी अनुसार आयोजनाको बढेको लागतबारे अध्ययन गर्ने तयारी भएको हो ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार बूढीगण्डकीको लागत अनुमान अद्यावधिक भएपछि मात्रै आयोजना निर्माणबारे थप निर्णय लिइनेछ । एनईए इन्जिनियरिङका प्रमुख माधव कोइरालाले बूढीगण्डकीको लागत अनुमान अद्यावधिक गर्न मन्त्रालयले अनुरोध गरेपनि औपचारिक रुपमा काम सुरु हुन बाँकी रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बूढीगण्डकी निर्माणको लागि छलफल गरिरहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई आयोजना अघि बढाउनेबारे निर्णय लिन ‘समयसीमा’ दिइकी थिइन् । सरकारले घर तथा बोटविरुवा बाहेकको मुआब्जा वितरण लगायतका काम लगभग सकाएको छ । वहुउद्देश्यीय आयोजना भएकाले पनि यसलाई रोकेर राख्न नमिल्ने भन्दै मन्त्री भुसाले गेजुवालाई आयोजनाबारे छिटो निर्णय लिन दबाब दिएकी छिन् । अब पनि ढिलाइ भए गेजुवालाई पर्खेर नबस्ने मन्त्रालयको तयारी छ ।

About The Author

अन्य समाचारहरु: