२२ असार, गोरखा – भूकम्प र पहिरोको चपेटामा परेका उत्तरी गोरखाको केरौंजाका बासिन्दा डेढ सातादेखि रुघाखोकी, झाडापखालाजस्ता रोगले प्रभावित बनेका छन्। रोगले दुईजनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बिरामी परेका छन्।
केरौंजा गाविसका पूर्वअध्यक्ष सुकबहादुर गुरुङले दिएको जानकारीअनुसार केरौंजाका वडा १, २, ३ र ४ मा रोग फैलिएको छ। उनीहरूमा टाउको दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने र रगतमासीको समस्या देखिएको छ। ‘तीन सातादेखि रुघाखोकी, झाडापखाला र रगतमासी फैलिएको हो’, गुरुङले भने, ‘तीनचार दिन बिरामी भएर केरौंजा १ का १५ वर्षका सुनिता गुरुङ र वडा नम्बर ४ का १८ वर्षका गोपिन गुरुङको मृत्यु भयो।’
केरौंजा माविमा कक्षा नौमा पढ्ने गोपिनको असार १२ गते मृत्यु भएको र कक्षा आठमा पढ्ने सुनिताको १४ गते मृत्यु भएको उनले बताए। गाउँमा धमाधम बिरामी भए पनि उपचार गर्ने स्वास्थ्यकर्मी नभएको गुनासो उनले गरे। ‘गाउँको हेल्थपोस्टमा पियनमात्र छन्’, उनले भने, ‘नयाँ अहेव गाउँमा गएका थिए । उनी पनि कार्यालयको काम छ भनेर दुई साताअघि सदरमुकाम झरेका अहिलेसम्म फर्केका छैनन्।’
गुरुङका अनुसार उनकै घरमा पनि आमा, श्रीमती र दुई छोरी बिरामी छन्। टाइफाइड भएपछि आफू पनि केही दिनअघि आरुघाट बजारमा उपचार गराएर ठीक भएको उनले बताए। ‘आफूलाई ठीक भएपछि जिल्लामा जानकारी गराउन आएको हुँ’, उनले भने, ‘सिडियोसाबलाई भेटेर जानकारी गराएँ।’ अन्नपूर्णबाट