
हेटौंडा : प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन् गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
हेटौंडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा हेटौंडामा मिनि रंगशाला निर्माणमा योगदान गरेको भनी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।
प्रतियोगिता अन्तरगत मकवानपुरमा आइतबार पुरुष तर्फको फुटबल हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषदले जनाएको छ । खेल नकआउट चरणमा हुनेछ ।
प्रतियोगितामा ८ वटा खेल हुनेछ । मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।
त्यस्तै, सिन्धुपाल्चोकमो चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।