धादिङ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नै दम्भ र कुवुद्धिका कारण सडकमा पछारिन पुगेको बताएका छन् । ओलीको घमण्डकै कारण सबै ठाउँमा सरकारमा रहेको एमाले अहिले सडकमा पुगेको बताएका हुन् ।
आज धादिङको गल्छी गाउँपालिका संगठनको प्रथम अधिवेशन उद्घाटलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनपछि केपी ओली बर्बराउन थालेको बताए । नेपालले केपी ओलीको सुर्यमा ग्रहण लागिसकेकोले अर्कालाई गाली गलौज गर्दै बर्बराउन थालेको बताएका हुन् ।
‘केपी ओलीको सूर्यमा ग्रहण लागिसकेको छ, विचराहरुको अनुहार चाउरिएका छन् । उनीहरु बर्चराउन थालेका छन् । गाली गलौज गर्न थालेका छन् । उनीहरुसँग कुनै तर्क छैन । आँट पनि छैन’ नेपालले थपे,–‘ग्रहण लागेको सुर्यको भविष्य छैन । अब कलम चिन्ह चम्काउनु पर्छ ।’
‘केपी ओली गफाडी हुन् गफ मात्रै गर्छन्, काम गर्दैनन् । यस्ता मान्छेलाई देश चलाउन दियो भने देश धरासायी बन्छ’ अध्यक्ष नेपालले भने ।
आगामी बैशाख ३० मा हुन लागिरहेको चुनावमा एमाले बाहेक सबै पार्टीसँग तालमेल गरेर अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चालगायतसँग तालमेल हुनसक्ने संकेत गरेका हुन् । ‘चुनावमा तालमेल हुन्छ । तालमेल मिल्यो भने वडा तथा पालिकामा मिलेर उम्मेदवार उठाउनेछौं र केपी ओलीको पार्टीलाई धुलोपिठो हुनेछ’ नेपालले भने ।
पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनतिर इमान्दारिता देखाएको पनि अध्यक्ष नेपालले प्रष्ट्याएका छन् । ‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे, तर शेरबहादुरजीले इमान्दारिता राख्नुभयो’ नेपालले भने । संकटका बेला मिलेर अघि बढेकाले संकटकै बेला मित्रतामा घात गर्न सक्दिन भनेर देउवाले भनेपछि केपी ओली विचलित हुन पुगेको पनि समाजवादीका अध्यक्ष नेपालले बताए ।