Wed. Jan 29th, 2025

भेडाबाख्रामा के कारण हुन्छ पिपिआर संक्रमण ?

हाम्रो देशमा पशुपालनको धेरै महत्वपूर्ण भूमिका छ । पशुपन्छी विकास मन्त्रालयबाट पनि थुप्रै योगदान छ । विदेशिने युवाहरूलाई रोक्न बैंक, वित्तीय संस्थाले सहयोग गरेका छन् । राष्ट्रिय बिमा नीति छ, यसमा पशुको बिमा गर्दा मरेको खण्डमा क्षतिपूर्तिको सुविधा पनि दिएको छ ।
पशुपालन क्षेत्र फस्टाए नेपालमै रोजगारी र विदेशबाट दूध, दुधजन्य पदार्थ, मासु, अण्डा, राँगो, भैँसी, बोका, च्याङ्ग्रा किन्दा विदेशिने पैसा रोक्न सकिन्छ । पशुजन्य उद्योग छाला उद्योग सहज सञ्चालन गर्न सकिने महत्व बुझेर कृषि विकास मन्त्रालयबाट पशुपन्छी विकास मन्त्रालय छुट्टै बनेको छ ।
घाँसमा आधारित पशुपालन गरी लागत कम र मासु, दूध उत्पादन गर्न सजिलो हुन्छ । पुरानो सोच हटाएर व्यावसायिक रूपमा आधुनिक पशुपालन गरेर फाइदा लिन सकिन्छ । आफ्नो पैसाले मात्रै नपुगे वित्तीय संस्थाको सहयोग लिन सकिन्छ र अनिवार्य बिमा गरेर नोक्सान हुनबाट जोगिन सकिन्छ । गोठ सुधार गर्ने र नियमित विभिन्न रोगको उपचार गरी आर्थिक नोक्सान हुनबाट बच्नुपर्छ ।

पिपिआर रोग र यसको उत्पत्ति
पिपिआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी महत्वपूर्ण मानिन्छ । यो रोग सुरुमा अफ्रिका महादेशबाट आएपनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको छ नेपालमा बिक्रम सम्बत २०५१ र ५२ तिरबाट यो रोग देखा परेको हो ।
नेपाल सरकारले इस्विसम्बत २०३० भित्रमा रोग उन्मुलन गर्ने लक्ष्यका साथ कार्यक्रम हरु संचालन गर्दै आइरहेको छ । प्रायजसो कृषकहरुलको आर्थिक आयआर्जनको पाटो कृषि र कृषि मध्ये पनि पशुपालन क्षेत्र भएको हुँदा भेडाबाख्रा पालन गरिने भएकोले आर्थिक दृष्टिकोणबाट पनि यो रोगलाई बिशेष मानिन्छ ।

कसरी चिन्ने पिपिआर ?
यस रोग चिन्ने आधार भनेको भेडाबाख्रामा कडा ज्वरो आउने, सिगान बगाउने, आँखामा र्‍याल काड्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिशा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछी उक्त घाउ फुटी पाप्रा बन्ने हुन्छ र सोहि कारणले दानापानी खान नसक्ने हुन्छन् ।
यो रोगी जनावरसंगको प्रत्यक्ष लसपस भएको अवस्थामा, सिगान र्‍याल, बड्कौला, तथा दाना पानी दिन प्रयोग गरिने भाडाकुडाबाट सजिलै सर्न सक्छ । पशुको स्याहारसुसार गर्ने व्यक्ति बढी सचेत र चनाखो हुनु जरुरी हुन्छ ।

पिपिआरबाट कसरी बचाउने ?
पिपिआरबाट बच्न तथा बचाउनको लागी सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्छ । ३ महिनाभन्दा माथी उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिन्छ ।
एक पटक खोप लगाई सकेपछि पुन ३ बर्षसम्म उक्त पशुलाई खोप दिनु पर्दैन । सकेसम्म चरनमा नलैजाने, संक्रमण देखिएको खोरमा फर्मालिन, पोटास पानीको प्रयोग गर्ने र लक्षणको आधारमा पशुसेवाको क्षेत्रमा काम गर्ने प्राविधिकको सल्लाह र निगरानीमा उपचार गराउनु पर्दछ ।
चाड पर्व, दशैं तिहार जस्ता जनावरको व्यापार बढी हुने समयमा यो रोगको संक्रमण बढी फैलिन्छ । तीन महिना उमेर कटिसकेका पाठापाठीहरुलाई यो रोग लाग्दछ । मृत्युदर ५० प्रतिशत, महामारीमा ९० प्रतिशत भेडाभन्दा बाख्रा बढी प्रभावित हुन्छन् ।

रोकथाम तथा नियन्त्रण
रोगी पशु अलग्गै छुट्याउने, चरन क्षेत्रमा रोगी नपठाउने, बाहिरबाट ल्याइएका बथानमा नमिसाउने, २१ दिन पूर्व खोप लगाएका मात्र किन्ने, पिपिआर खोप कार्यक्रममा सहभागी गराउनु पर्छ ।
नियमित आन्तरिक परजीवि औषधी खुवाउने, जनावरको आवतजावतमा रोक लगाउने, रोग लागेको ठाउँमा खोप कार्यक्रम चालु गर्र्र्नुपर्छ ।

(लेखक नीलकण्ठ नगरपालिकाका पशुसेवा प्राविधिक हुन् ।)

About The Author

अन्य समाचारहरु: