धादिङ– धुनिवेसी नगरपालिकाले विकट वस्तीहरुमा आलु पकेट क्षेत्र बनाउने अभियान थालेको छ । धुनीवेसी नगरपालिका–७, तोप्लाङ, लिखु, झाप्रे, थली र गुर्दुम गाँउलाई समेटेर आलु पकेट क्षेत्र बनाउन लागेको हो ।
परम्परागत रुपमा आलु उत्पादन हुदै आएको वस्तीका किसानलाई नगरपालिकाले आवश्यक वीउ तथा सामाग्राी वितरण गरेको छ । किसानहरुले पनि गाउँ गाउँमा विभिन्न समूह बनाएर आलु खेती गर्न सुरु गरेका छन् । समुहमा आवद्ध किसानहरुलाई सामाग्री हस्तान्तरण गरिएको कृषि शाखाका प्रमुख सन्तोष खड्काले बताए ।
धुनीवेसी नगरपालिका–७, को लेकाली बस्ती जहाँ परम्परागत रुपमा बर्खे आलु खेती गर्दै आएकाले आलुलाई व्यवसायिक रुपमा खेती विस्तार गर्न जनक देव पहिलो पुस्ताको आलु १३ टन वीउका रुपमा किसानहरुलाई निशुल्क उपलव्ध गराएको छ ।
६ वटा समूहमा एक सय ४३ परिवारका किसान आवद्ध भएका छन् । किसानलाई उपलव्ध गराएको आलुको बीउले १७ हेक्टर क्षेत्रफल ढाक्ने छ । यो आलु पहिलो पुस्ताको आलु भएकाले वीउलाई नै राखिने छ । अर्को वर्ष अन्य क्षेत्रमा समेत विस्ता गरिने उपप्रमुख निरु खरेलले बताइन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सर्शत बजेटबाट आलु पकेट क्षेत्र तयार गरिएको हो । अर्को सालका लागि आलु ब्लक बनाउन प्रस्ताव गरिएको छ । यस क्षेत्रमा तीन सय ५० परिवार भन्दा बढीको बसोबास रहेको लेकाली क्षेत्रमा पाँच सय हेक्टर भन्दा बढी क्षेत्रमा आलु खेती गर्न सकिने प्रमुख खड्काले बताए ।
धुनीवेसी नगरपालिका तरकारी पकेट क्षेत्र हो । यहाँका ८० प्रतिशत किसानले तरकारी खेती गर्दै आएकाछन् । काठमाण्डौ स्थित कालीमाटी तरकारी बजार किसानहरुको नजिक रहेकाले किसानहरु आफै पनि तरकारी विक्रीका लागि कालीमाटी पुग्ने गरेका छन् ।