
शंकर श्रेष्ठ
धादिङ– राई गाउँका अधिकांश महिला अहिले खेतबारीमै छन् । कोही गहुँ बारीमा भेटिन्छन् त कोही आलु बारीमा देखिन्छन् । गहुँमा विषादी छर्दै गरेकी सविता राई भन्छिन्–‘अहिले त हाम्रो आम्दानीको मुख्य श्रोत नै कृषिकर्म बनेको छ ।’
गजुरी गाउँपालिका–५, राइगाउँका स्थानीय खेती किसान र पशुपालनमा व्यस्त छन् । बर्षौदेखि उच्च जोखिम मोलेर त्रिशुली नदि किनारामा बालुवा निकालेर जिविको चलाउदै आएकाहरु अहिले कृषि कर्ममा फर्किएका हुन्् ।

वर्षाैदेखि बाँझो खेतबारी अहिले अन्नबाली र तरकारीले ढपक्कै ढाकिएका छन् । कसैको खेतमा गहँु लहलह छ त कसैको खेतमा आलु खन्ने बेला भएको छ । लसुन, प्याजलगायत अन्य खेती गर्नेको कमी छैन ।
परम्परागत खेतीले खानै नपुगेर त्रिशुलीमा हेलिँदै बालुवा झिक्नभन्दा अहिले खेतबारीमै पसिना बगाएर राम्रो फाइदा हुन थालेको सीता राईले बताइन् । सीताले यस्पाली खेतमा टनक्कै गहँु लगाएकी छिन् । अघिल्लो वर्षहरुमा लगाएको परम्परागत तोरीले भन्दा पोहोरसाल प्राविधिकको सल्लाह अनुसार लगाएको गहुँले राम्रो उत्पादन दिनएपछि यस वर्ष अधिकांश खेतबारीमा गहुँ लगाएको उनी बताउँछिन् । उनी भन्छिन्–‘गाउँका सबैजनाले खेती गर्न सुरु गरेपनि काम खोज्न घर छोडेर बाहिर जानु परेको छैन ।’
बालुवा झिक्दा बढ्दै गएको जोखिम, घट्दै गएको आम्दानी भन्दा राईगाउँबासीलाई कृषि कर्मले लोभ्याएको छ । खेतीपाती पुख्र्यौली पेशा हो । तर आधुनिक प्रणालीबाट कृषि पेशा गर्न सके बालुवा चाल्नु भन्दा माटो चाल्नु फाइदा रहेको सविता राई बताउँछिन् ।
त्रिशुलीको बालुवा भन्दा आफ्नै पाखा पखेरा प्यारो बनेको छ । ‘पहिले पनि खेतीकिसानी गरेरै बाँचेको मान्छे हामी त । बिचमा बालुवा चाल्न थाल्यौं । खेतमा गहँु लगाउन थालेपछि भएको आम्दानीले बालुवा चाल्न भन्दा माटोसँग खेल्दा खुषी मिल्ने रहेछ,’ सविताले खुसी सुनाइन् ।
परम्परागत तरिकाले खेति गर्दा आम्दानी कम हुने हँुदा स्थानियले सोचेको जस्तो आम्दानी लिन सकेका थिएनन् । पछिल्लो समय प्राविधिकको सल्लाह अनुसार स्थानियहरुले गहुँ खेति सुरु गरेका हुन् । स्थानिय श्र्रुति राई भन्छिन्– ‘अहिले खेत ढकमक्क गहँुले ढाकेको छ । गाउँले धेरैले गहँु खेती गरेका छन् । पछाडी परेको राई गाउँ अहिले कृषि कर्मबाट माथि उठेको छ ।’

अरुको ज्याला मजदुरी गरे मात्र पैसा देख्न पाउने राईगाउँबासी अहिले कृषिजन्य उत्पादन गरेर जीविको चलाउदै आएका छन् । प्रविधि र प्राविधिकको सहयोगले राईगाउँबासीको दैनिकी फेरिएको जनप्रतिनिधिहरुले पनि महशुस गरेका छन् । गजुरी गाउँपालिकासँगको साझेदारीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)ले गाउँमा विभिन्न कार्यक्रम सहयोग उपलब्ध गराएपछि पनि गाउँमा परिवर्तन देखिन थालेको गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए ।
राईगाउँमा करिब २ सय ५० घर घर राई समुदायको बसोबास छ । ७५ प्रतिशत मानिस कृषिमा व्यस्त छन् । १२÷१५ वर्ष पछि फेरी गहुँ खेती सुरु गरेको स्थानीयहरु बताउँछन् । ‘यसअघि परम्परागत शैलीमा तोरी छर्दै आएका थियौं, फ्यानसेपले डेढ वर्षअघि गहुँखेती पाठशाला चलाएपनि गाउँमा किसानले गहुँखेती सुरु गरेका हौं’ सीता राइले भनिन् ।

राईगाउँको तल्लोटोल, माझी टोल, पारीटोलका करिब ५० परिवारले गहुँ खेतीलाई व्यवसायिक रुप दिएका छन् । फोहोर साल १० जना जतिले गहुँ खेती लगाएकोमा यो वर्ष गहुँखेतीमा किसानको आकर्षण बढेको फ्यानसेपमा कृषि प्राविधिक टिका थापाले बताइन् । राईगाउँलाई गहुँको पकेट क्षेत्र बनाउने गरी किसानको खेतबारीमै पुगेर प्राविधिक सहयोग गरिरहेको उनले सुनाइन् ।
गहुँ, आलु, सिमीलगायत खेतीका लागि फ्यानसेपले गाउँगाउँमा विउ तथा प्राविधिक सहयोग उपलब्ध गराएको माथिल्लो टोलकी ममता राइले बताइन् । ममताले अघिल्लो वर्षदेखि व्यवसायिक रुपमा आलु खेती गरिरहेकी छन् ।