Wed. Nov 27th, 2024

गजुरी डाँडागाउँका घरघरै व्यवसायिक बाख्रा पालन

शंकर श्रेष्ठ
धादिङ–
गजुरी गाउँपालिका–७, डाँडागाउँकी हिमकुमारी अधिकारीको हिजोआज दैनिकी फेरिएको छ । विहानदेखि बेलुकासम्म नै उनी बाख्राका पाठापाठीसँगै रमाउँछिन् । पाठापाठी खेलाउदा खेलाउँदै दिन वितेको उनलाई पत्तै हुँदैन । भन्छिन्,–‘अहिले त मेरो खेल्ने साथी नै बाख्राका पाठापाठी हुन् ।’

अहिले हिमकुमारीको ३ वटा बाख्राले पाठापाठी जन्माएको छ । त्यो बाहेक पनि ८ ओटा बाख्रा उनको खोरमा छ । गए दशैमा चार वटा खसी बेचेर पनि एउटा खसीले आफैले दशै मनाए । ‘देवालीमा पनि घरकै बोकाले पुजा गरियो, नयाँ खोर बनाएदेखि बाख्रा पालेर फाइदै फाइदा भएको छ’ हिमकुमारीले खुसी सुनाइन् ।

डाँडागाउँका किसानले बाख्रा पालन समूह नै दर्ता गरेका छन् । गाउँभरीका सबैले बाख्रा पालनका लागि सुधारिएको खोर पनि बनाएका छन् । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसानले परम्परागत बाख्रा पालनलाई व्यवसायिक बनाउन थालेका हुन् ।

वर्षाँैदेखि शिक्षण पेसा गर्दै आएका बासुदेव अधिकारीले पनि अहिले बाख्रा पालनलाई नै जोड दिएका छन् । अहिले उनले एउटै खोरभित्र पनि साना पाठापाठी, माउ बाख्रा र खसीबोका राख्ने छुट्टाछुट्टै ठाउँ बनाएका छन् ।

प्राविधिकको सल्लाह अनुसार नै सुधारिएको खोर बनाएर बाख्रा पालनलाई नै व्यवसायिक रुप दिन लागिएको उनले बताए । सुधारिएको खोर बनाएर बाख्रा पालन गर्दा कुनै किसिमको रोग तथा परजिविका कारण क्षति व्यहोर्नु नपरेको बासुदेवको अनुभाव छ ।

गाउँका सबै घरमा अहिले १० वटा भन्दा धेरै बाख्रा छ । बाख्राकै लागि भनेर बारीका कान्ला र खाली जग्गामा डाले घाँसहरु पनि लगाएका छन् । बजारदेखि टाढाको गाउँ भएर सामान्य औषधीहरु पनि घरमै लगेर राख्ने गरिएको किसानहरु बताउँछन् ।

डाँडागाउँ पशुपालन कृषक समुह नाम दिएर यहाँका किसानहरुले गजुरी गाउँपालिकामा समूह दर्ता गरेका छन् । सरकारले उपलब्ध गराउने सहुलियत अनुदान लिन र बजारिकरणमा समेत सहज बनाउन उनीहरुले प्यान दर्ता र बैक खाता समेत खोलेका छन् । समूहमा अहिले सुधारिएको खोर बनाएका २५ घरको सहभागिता रहेको समूहका अध्यक्ष राजन अधिकारीले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) मार्फत खोर सुधारमा सहयोग पाएपछि पनि किसानमा उत्साह थपिएको समूहका अध्यक्ष अधिकारीले बताए । ‘२ वर्ष अघिसम्म गाउँका सबैले परम्परागत रुपमै बाख्रा पालन गर्दै आएका थिए, अहिले त्यहि परानो खालको बाख्रा पालनलाई सुधार गरेर यसैलाई व्यवसायिक बनाउँदैछौं’अधिकारीले भने ।

सुधारिएको खोर बनाएर बाख्रा पालन गर्न चाहने किसानलाई खोर निर्माणमा ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको फ्यानसेपका पशुपालन प्राविधिक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २ वर्षयता पशुपालनमा निकै सुधार आएको उनले बताए ।

बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । किसानले पालेका पशु विरामी पर्दा फ्यानसेपका प्राविधिकहरुले किसानको घरघरमै पुगेर सहयोग गरिरहेको वडाअध्यक्ष केशव अधिकारीले बताए । उत्पादनमुलक क्षेत्रमा लागेका किसानलाई उनीहरुको माग र आवश्यकता अनुसार वडा र पालिका मार्फत पनि सहयोग उपलब्ध गराइएको वडाअध्यक्ष अधिकारीले बताए ।

एक घरले वर्षमा ५ देखि १० वटा खसीबोका विक्रि गर्न थालेका छन् । खसीबोका खोज्न मानिसहरु गाउँमै पुग्छन् । ओल्लोपल्लो गाउँबाट पनि खसी किन्न डाँडागाउँ नै पुग्न थालेको अधिकारीको भनाई छ । साना पाठापाठी पनि बिक्री हुने गरेको उनले बताए । यहाँका किसानहरु भन्छन्–‘अब हाम्रो व्यवसाय नै बाख्रा पालन हो ।’

About The Author

अन्य समाचारहरु: