Thu. Nov 28th, 2024

कांग्रेस भन्छ: ‘एमसिसी संसदमा पेस गरौं, जनतालाई बुझाऔं’

काठमाडौ– सत्ताको नेतृत्वको गरिरहेको दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एसमिसी) सँगको सम्झौता अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने बताएको छ।

बिहीबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा एमसिसीबारे लामो छलफल भएको थियो।

केन्द्रीय सदस्य शेखर कोइरालाका अनुसार बैठकमा पूर्वअर्थमन्त्री  रामशरण महतले एमसिसी किन नेपालको हितमा छ भनेर लामो ब्याख्या गरेका थिए।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महतलाई यसबारे छोटकरी  सबै कुरा आफूलाई बुझाउन भनेका थिए।

‘एमसिसी नेपालका लागि राम्रो हो। यो पास गर्दा अमेरिकी सेना यहाँ आउने होइन भन्ने कुरा जनतालाई बुझाउनु पर्छ भन्ने छलफल भयो,’ कोइरालाले भने।

बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेस एमसिसीको छिनोफानो संसदबाट गर्ने पक्षमा रहेको बताए।

‘जनताका प्रतिनिधिहरूसामू छलफलका लागि प्रस्ताव पठाउनु पारदर्शी कुरा हो। एमसिसीबारे विभिन्न हल्लाहरू फैलाइएका छन् ती सबैबारे जनताका प्रतिनिधिले छलफल गर्न पाउनुपर्छ,’ प्रवक्ता महतले भने,‘राम्रो/नराम्रो के हो हेरेर सांसदले निर्णय गर्छन्।’

About The Author

अन्य समाचारहरु: