
धादिङ– गजुरी गाउँपालिका–६, मिलनटारको पुरै फाँट अहिले सिमीले भरिएको छ । ठुल्ठुला गरा होस् या पखेरे सुर्का सबैतिर सिमीका विरुवा उम्रिएका छन् । सिमीलाई थाक्रा लगाउन यहाँका किसानलाई अहिले भ्याईनभ्याई छ ।
राम्रो आम्दानी हुने भएपछि मिलनटारका किसानले नगदेबाली सिमीको व्यवसायिक खेती सुरु गरेका छन् । अन्य उत्पादनभन्दा सिमीबाट बढी आर्थिक लाभ लिन सकिने भएपछि गाउँबासी नै सिमी खेतीप्रति आर्कषित भएका हुन् ।

अघिल्लो वर्ष थोरै विरुवा लगाएर पनि राम्रो आम्दानी लिएका किसान यो वर्ष झनै हौसिएका छन् । भर्खर उम्रिएको सिमीलाई घोचा लगाउँदै गरेका किसान ध्रुव सुवेदी भन्छन्–‘पोहोरसाल आधाकिलो सिमीको विरुवा लगाउँदा ४२ हजार नाफा भएको थियो, यो पटक ५ किलो सिमीको विरुवा लगाएको छु ।’ परम्परागत रुपमा लगाइने धान मकैबाट भन्दा नगदेबाली सिमीबाट एकै वर्षमा चौबर आम्दानी गर्न सकिने उनको विश्वास छ ।
गाउँभरिको जग्गा सिमी खेतीमय भएको छ । खेती पनि राम्रो सप्रेको कारण आम्दानीमा वृद्धि हुने देखिएकाले स्थानीयहरु आम्दानी हुने बालीप्रति आर्कषित हुन थालेका हुन् ।
परम्परागत खेती छोडेर सिमी तथा तरकारीजन्य बाली लगाउन थालेपछि खेमराज अधिकारीको पनि दैनिकी फेरिएको छ । सिमी लगाउन थालेदेखि घरखर्च चलाउन सजिलो भएको उनी बताउँछन् । ‘तरकारी लगाउन थालेपछि धान मकै लगाउँदा भन्दा केही न केही आम्दानी बढेको छ, घर खर्च लगाउन पनि सजिलो भएको छ’ उनले सुनाए ।

सिमी खेती गर्न थालेपछि वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुन थालेको सर्मिला पुलामीको अनुभव छ । उनले अहिले झण्डै १० रोपनी जग्गामा सिमी खेती गरिरहेका छन् । ‘खेती गर्न पनि सजिलो छ, बजारको पनि समस्या छैन’, उनी भन्छिन्– ‘गाउँमा सिमी खेतीको लहर चलेको छ ।’
सिमी खेती हुन थालेपछि वषौंदेखि बाँझो बनेका पाखोबारी हरियाली बनेका छन् । सिमीले गाउँमा खेती र विकासको लहर ल्याएको गजुरी गाउँपालिका–७ का वडा अध्यक्ष केशव अधिकारी बताउँछन् । अन्न उत्पादन न्यून हुने बस्तीमा अन्य बाली छोडेर सिमी खेती गर्ने लहर चलेको अधिकारीले बताए ।
प्रविधिको प्रयोगसँगै किसानलाई आत्मनिर्भर बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)ले विभिन्न कार्यक्रम गर्दै आएको छ । प्राविधिकहरुले किसानको खेतबारीमै पुगेर सहयोग गरिरहेको फ्यानसेपले कृषि प्राविधिक टिका थापाले बताइन् । माग र आवश्यकता अनुसार विउ तथा प्राविधिक सहयोग गर्दै आएको उनले बताइन् ।