Fri. Mar 14th, 2025

हिउँदे आलु खेतीमा पछौटे डढुवा रोगको प्रकोप

धादिङ– धादिङका किसानहरुले लगाएको हिउँदे आलु खेतीमा पछौटे डढुवा रोगको प्रकोप देखिएको छ । अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो ।

केहीदिन अघि परेको आकासे पानी र त्यसपछिको तुसारोले आलुको पात र डाँठ नै सुक्न थालेको किसानहरुले बताएका छन् । चिसो मौसम सुरुवता भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको छ । प्रायः सबै किसानले लगाएको आलु खेतीमा डढुवाको संक्रमण फैलिएको छ ।

मंसिरे धान काटेर लगाईएको आलुमा माघ पहिलो सातादेखि नै डढुवा लागेर सखाप भएपछि किसानले आलु मासेर अन्य खेती समेत गरेका छन् । किसानमा प्राविधिक ज्ञानको कमीले पनि आलु खेतीमा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र धादिङका बाली संरक्षण अधिकृत जयराम अधिकारीले बताए ।

वर्षात हुने, राम्रो घाम नलागेर सित नओभाउने ठाउँमा रोग बढि फैलिएको पनि अधिकारीको भनाई छ । खेती गर्दा ध्यान दिने र प्राबिधिकको सल्लाह अनुसार समयमै खेतीपातीको रेखदेख गर्ने केही किसानको आलुमा भने खासै समस्या नदेखिएको बाली संरक्षण अधिकृत अधिकारीले बताए ।

धादिङका अधिकांश किसानले एक कुन्टलदेखि १० कुन्टलसम्म आलु लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा व्यवसायिक रुपमा १७ सय ६५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । ७ सय ७८ हेक्टरमा जमिनमा हिउँदे आलु उत्पादन हुँदै आएको छ ।
जिल्लाको नीलकण्ठ, बेनिघाट, धुनिवेसी, गजुरी, ज्वालामुखी, नेत्रावतीलगायतमा बढी आलु लगाइन्छ । झार्लाङको आलु जिल्लाकै प्रख्याल छ ।

डढुवा रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ । यो रोग आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग हो । बाली संरक्षण अधिकृत अधिकारीले भन्छन्, ‘यसको लक्षण संक्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिन्छन् । रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ ।’

अनुकुल वातावरण भइ रह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने अधिकारीले बताए । धादिङको उत्तरी भेगका किसानले वर्खे आलु बढी लगाउँछन् भने तल्लो भेगका किसानले हिउँदे आलु लगाउने गर्दछन् ।

About The Author

अन्य समाचारहरु: