कविता
- श्याम कुमार भट्टराई
हलुको झोला बोकेर
कहिले भारी झोला र हलुको मन बोकेर
पुरानो कालो कोट लगाएर
पुरानो कालो झोला बोकेर
म सफा सेतो स्वच्छ नयाँ न्याय खोज्नको लागि
निरन्तर अदालत गएको छु
आजकल म वकिल भएको छु
कहिले नयाँ कानुनको पुरानो किताब बोकेर
कहिले पुरानो कानुनको नयाँ किताब बोकेर
कहिले मनमा भाव बोकेर
कहिले मष्तिस्कमा अभाव बोकेर
पटक पटक अदालत गएको छु
आजकल म वकिल भएको छु
कहिले मुद्दा जितेर आफु हारेर आएको छु
कहिले आफुले जितेर मुद्दा हारेर आएको छु
कहिले आफ्नै बिरुद्धमा बहस गरेर आएको छु
कहिले न्याय सँगै आफ्नो मन मारेर आएको छु
कहिले गह्रौं पाइला टेकेर हलुको झोला बोकेर फर्केको छु
कहिले गह्रौंको झोला बोकेर हलुको मन लिएर फर्केको छु
अाजकल म वकिल भएको छु
कहिले सन्तोषको श्वास लिएर आएको छु
कहिले आश्वासनको बैसाखी टेकेर फर्केको छु
तालि पाउने काम गरेपनि तालि खान मिल्दैन अदालतमा
गालि खाने काम नगरेपनि गालि छोड्नै मिल्दैन अदालतमा
त्यसैले कहिले काँही खाजा पनि खान भ्याइदैन
अरुको गल्तिमा अघुजी गाली खाएर फर्केको छु
आजकल म वकिल भएको छु
कहिलेकाहीँ बलियासँग जोरी खोज्न पनि पाएको छु
कहिलेकाहीँ निर्दालाई फुइल्याउन पनि पाएको छु
न्याय दिन हो, कहिले किचिएको छु , कहिले खिचेको छु
कहिले नजानेपनि जानेको अभिनय गरेको छु
कहिले जाने पनि नजानेको भाव पोखेको छु
कहिले नमिलेका मैला इच्च दाँत देखाएर पुरानो कालो कोट भित्र अज्ञानताको लाज छोपेको छु
आजकल म वकिल भएको छु।
कहिले तथ्य कम र तर्क बढी राखेको छु
कहिले तर्क कम र तथ्य बढी राखेको छु
कहिले मिसिल कम र मन बढी पोखेको छु
कहिले मन कम र मिसिल बढी पोखेको छु
कहिले कागज अक्षरस पढेको छु
कहिले सिद्धान्तको सगरमाथा चढेको छु
त्यसैले भन्नुहुन्छ भने म मिसिल कम र मन बढी राख्दा खुसी भएको छु
मन कम र मिसिल बढी राख्दा बेखुसी भएको छु
खै किन हो कुन्नि म पोख्ने सिप पढाउदैनन् कलेजमा
खालि मिसिल पोख्ने र परम्परागत सुत्र पढाउँछन्
मलाई त न्याय अङ्क गणित जस्तो सोझो लाग्दैन
बिज गणितको सुत्र जस्तो नि लाग्दैन
प्रत्येक मुद्दामा फरक फरक अनुहार देख्छु म
प्रत्येक मुद्दामा फरक फरक अक्षर देख्छु म
त्यसैले अक्षर भाव जोडेर मन मौजी प्रकट भएको छु
भ्रमलाई सोधेर प्रमाणको विवेचना गरेको छु
स्वतन्त्रताको बेलगाम यात्रामा सौभाग्यले ढिलो गरी वकिल भएको छु
आजकल म वकिल भएको छु