(कविता) –सुरेश अर्याल
मेरो देश
जहाँ
थुम्का–थुम्कामा लालिगुराँस फुलेर
रातै हुन्छ डाँडाको शिरको सिउँदो ।
उस्सै उद्देल्लित हुन्छन् प्रेमिल जोडिहरु ।
जहाँ
हावामा बुई चढी कस्तुरीका सुगन्ध डुल्ने गर्छन्
यार्शागुम्बा, पाँचऔँले सयथरी ईलाज फुल्ने गर्छन् ।
जहाँ
सप्तरङ्गी इन्द्रेणीको भर्याङ चढेर
स्वर्गका इन्द्र नै झर्छन् यहि माटोमा
स्वर्गीय आनन्द प्राप्त गर्न ।
जहाँ
मकालु त काला छैनन्
झन् कञ्चनजंघा कस्ता होलान् ?
जहाँ
ऐना बनी बसेको छ फेवा,
माच्छापुच्छ्रे र तालबाराहिको दृश्य हेर्न ।
जहाँ
हात्तिका हुल–हुल लिएर
भित्री मधेश दङ्ग छ ।
डाँफे, मुनाल र मत्तमयुर काखमा लिएर
हिमालहरु मख्ख छन् ।
जहाँ
स्नान गर्न रिडि, गण्डकी र कुण्डहरु छन् ।
ध्यान गर्न खप्तडका लेक र शिबपुरी छन् ।
रसिकलाई रोदिघरहरु छन् ।
बैरागिलाई बृन्दाबनहरु छन् ।
मुक्ती चाहनेलाई मुक्ती क्षेत्र छन् ।
जहाँ
अनन्त तृष्णा मेट्ने अध्यात्मिक नाला छन् ।
कालिदासका कल्पना र देवकोटाका भावना छन् ।
बेदका प्राकृतिक पाठशाला छन् ।
जहाँ
पसिनाहरु मोति भई फल्दछन्
सपनाहरु सन्तुष्टि भई बल्दछन् ।
जहाँ
प्रत्येकसँग निर्मल पुर्जा र पासाङका पैतालाहरु छन् ।
पृथ्वीनारायण र कालु पाण्डेका उत्साह र अठोट छन् ।
जहाँ
साक्षी छ, गौरबमय ईतिहासहरु ।
राष्ट्र निर्माताका छाताका छहारी र जुत्ताका डोबहरु ।
जहाँ
मुठ्ठी भएर कसिने औँलाहरु छन् ।
चुल्ठो भएर बाटिने रौंहरु छन् ।
अनेकतामा एकता छ ।
बिषमतामा समता छ ।
म यहिँ छु
र ईन्द्रधनुषी मेरो देश छ ।