काठमाडौं– प्रमुख राजनीतिक दलबीच नयाँ संविधनाको पहिलो मस्यौदामा जनताको राय लिन कति दिन समय छुट्टयाउने भन्ने टुंगो लाग्न बाँकी रहेका बेला संसद सचिवालयले साउन १५ भित्र नयाँ संविधान जारी गर्ने तयारी गरेको छ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरूले चाँडै काम टुंग्याउन सके साउन १५ गतेभित्र संविधान जारी गर्ने तालिका निर्माण गर्ने बताएका छन्। मैले साउन १५ भित्र संविधान जारी गर्नेगरी तयारीमा जान सकिने राय दिएको छु, सभाध्यक्ष नेम्वाङ सञ्चारकर्मीसँग भने, दलका नेता र सभासदले कसरी टुंगो गर्नुहुन्छ, त्यहीअनुसार संविधानसभा अघि बढ्छ।
सरकारको नीति तथा कार्यक्रम, बजेटसहितका विषयमा सहभागी हुन सभासदहरु राजधानीमै बस्नुपर्ने भएकाले तत्काल समय तोक्न अप्ठ्यारो परेको छ। सरकारको नीति तथा कार्यक्रम बुधबार संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ। मस्यौदा पारित भएपछि मात्रै यो विषय राजपत्रमा प्रकाशित हुनेछ, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने, त्यसपछि नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई जिल्ला जान समय छुट्टयाउनुपर्ने हुन्छ। संविधानसभा बैठकमा शनिबार केही सभासदले संविधान छिटो दिने नाममा जनतासँग लिने रायको समय छोट्टयाउन नहुने सुझाव दिएका थिए। दलहरुले यसअघि असार ३० गते संविधान जारी गरिसक्ने बताउँदै आएका थिए। अहिलेसम्म संविधान जारी गर्ने मिति असार मसान्त नै हो, एमालेका प्रमुख सचेतक अग्नि खरेलले भने, कसरी जनतामा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ, चाँडै टुंगो लाग्छ।
राजनीतिक दलले फास्ट ट्र्याकबाट संविधान जारी गर्ने बताउँदै आएका छन्। संविधानसभाले मस्यौदा राजतन्त्रमा प्रकाशित गरियोस् भन्ने प्रस्ताव पारित गरेपछि सभासद मस्यौदा लिएर जिल्ला जाने छन्। प्रमुख चार राजनीतिक दलबीच जेठ २५ गते भएको १६ बुँदे सम्झौतामा मस्यौदालाई राजपत्रमा प्रकाशित गरेर जाने सहमति भएको थियो।
यसअघि संविधानसभाले तयार पारेको कार्यकालिकामा जनताको राय–सुझाव लिन एक महिनाको समय छुट्टयाए पनि त्यति समयमा नलगाउने तयारी दलहरुले गरेका छन्। नागरिक दैनिकबाट