धादिङ – अवैध रुपमा धादिङबाट पोखरासम्म परिवारसहित ल्याएर राखिएका भूकम्प पीडित बालबालिकाहरुलाई बालगृह संजाल कास्कीले फिर्ता पठाएको छ । आशा फाउन्डेशन नामक बालगृहले अवैधानिक रुपमा टहरा बनाएर परिवारसहित बालबालिकाहरुलाई पोखरा ल्याएर राखेपछि, विवाद भएको थियो ।आशा फाउन्डेशनमा आश्रय लिएर बसिरहेका ७० जना भूकम्पपीडितलाई बुधबार धादिङ जिल्ला प्रशासनको जिम्मा लगाएर फर्किएको बालगृह संजालकी अध्यक्ष गोमा ढकालले बताईन् ।
एक जिल्लाबाट अर्को जिल्लामा लगेर बालबालिका तथा उसको अभिभावकलाई राख्नु अवैधानिक भएकाले उनीहरुलाई फिर्ता पठाईएको उनको भनाई छ । सञ्जालले आशा फाउन्डेशनमा उनीहरुको लागि जम्मा भएको ८५ बन्डल जस्तापाता, ४५ बोरा चामल, सात बोरा मस्यौरा र २ बोरा नुन पनि पीडितहरुलाई हस्तान्तरण गरेको छ ।
धादिङको रि गाविसका १५ परिवारका भूकम्पपीडित सदस्यहरुलाई आशा फाउन्डेशनले टिनको अस्थायी टहरा बनाएर राखेको थियो । अनुगमनको क्रममा प्रशासनबाट स्विकृती नलिई राखेको र आफुखुशि राहत संकलन गरेको पाईएकाले प्रशासनले आशा फाउन्डेशनका संचालकहरु हरि लम्साल र दिपक सुवेदीलाई नियन्त्रणमा लिएको छ ।
धादिङसम्म भूकम्प पीडितलाई संजालको पहलमा पुर्याईएपनि जिल्ला प्रशासनले भने जिम्मा लिन मानेको थिएन । उनीहरुलाई व्यवस्थापन गर्ने विषयमा जिल्ला प्रशासन धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले आफुहरुले मान्छेको जिम्मा लिन नमिल्ने तर अहिलेको अवस्थामा तत्कालको लागि केहि सहज हुने गरि हामील खानेबस्नेको व्यवस्था भने गर्ने बताए ।