Tue. Mar 11th, 2025

कोरोना बिमाको समस्या छिट्टै समाधान हुन्छ: अर्थमन्त्री

काठमाडौ- अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमा भुक्तानीमा देखिएको समस्या समाधानका लागि गृहकार्य भइरहेको बताएका छन् । सोमबार बिमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

कोरोना बिमा गरेका करिब एक लाख व्यक्तिले बिमा दावी गरे पनि भुक्तानी पाउन सकेका छैनन् । कोरोना बिमाबाट अर्बौंको दायित्व सिर्जना भएको भन्दै अर्थमन्त्री शर्माले त्यो समस्या समाधान गर्न गृहकार्य भइरहेको बताए । त्यसलाई चाँडै निचोडमा पुर्‍याइने उनको भनाइ थियो ।

अर्थमन्त्री शर्माले बिमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको समेत औंल्याए । उनले बिमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने बताए ।

‘बिमा क्षेत्रको आवश्यकता र व्यवसाय धेरै भइरहेको सन्दर्भमा त्यसलाई नियमन गर्ने ऐन कानुन पनि त्यहीअनुसार विकसित हुन आवश्यक छ’, उनले भने, ‘करिब ३० वर्षअघि बनेको ऐनहरू आजको जनताको आवश्यकता तथा आजको व्यवसायको परिस्थितिअनुसार परिमार्जन एवम् निर्माण गर्नुपर्ने आवश्यकता भएको छ ।’

राज्यका संस्थाको संरचना कमजोर हुनुकै कारण सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न नसकिरहेको समेत उनले बताए । सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन अब सबै संरचना बलियो बनाउनैपर्नेमा उनले जोड दिए । समग्र संस्थाको संरचनालाई बलियो बनाउन सरकारको ध्यान गएको पनि उनले बताए ।

About The Author

अन्य समाचारहरु: