Thu. Nov 28th, 2024

अस्पतालको सेवा स्तरीय बनाउन दलहरुको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री पाण्डे

धादिङ– अस्पतालको सेवा स्तरीय बनाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।

प्रदेश सरकारको मुख्य प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेकोले पनि अस्पताललाई स्तरीय बनाउन राजनीतिक दलहरुले ध्यान दिनुपर्ने बताएका हुन् । धादिङ अस्पतालको ४५औं वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले अघिल्लो वर्षदेखि ५० शैयामा संचालन भइरहेको धादिङ अस्पताललाई एक सय शैयाको बनाउने कुरामा आफु प्रयत्नरत रहेको बताए ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्न अस्पताल प्राङ्गढ पुगेको मुख्यमन्त्री पाण्डेले धादिङ अस्पतालको आकस्मिक कक्षदेखि आईसियु वेडको समेत निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा अस्पतालका कर्मचारीहरुले पाण्डेलाई भव्य स्वागत गरेका थिए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा अस्पतालले थुप्रै सुविधा प्राप्त गरेको पनि पाण्डेले बताए ।

५० वेडमा सेवा उपलब्ध गराइरहेको धादिङ अस्पतालले ५० वेडकै आइसोलेशन पनि संचालन गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले बताए ।

धादिङ अस्पतालले यो वर्षबाट २ वटा अक्सिजन प्लाण्ट संचालनमा ल्याएको छ । यो बर्षबाट १० बेडको आइसियु, ५ ओटा भेन्टिलेटर पनि संचालनमा आएको छ । पिसिआर ल्याब संचालनको तयारीमा रहेको झाले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा अस्पतालले विधागत रुपमा उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सम्मान पनि गरेको छ । कार्यक्रममा स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीले विभिन्न गीतमा नृत्य देखाएका थिए ।

About The Author

अन्य समाचारहरु: