काठमाडौ– नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् ।
महाधिवेशन उद्घाटनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओलीले भने अस्वस्थ रहेको खबर पठाएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि कांग्रेस नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।
तत्कालीन नेकपाको किचलो र विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् ।
महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।
महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।