
स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।
अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो । बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, लरे साने र जमल मुसिएलाले गोल गरे ।
बार्सिलोना यसअघि सन् २०००-२००१ मा समूह चरणबाटै बाहिरिएको थियो ।
बायर्नले शतप्रतिशत जितसहित ६ खेलबाट १८ अंक जोड्यो । वेनफिका ८ अंक जोडेर समूह पविजेताको रुपमा नकआउट चरणमा पुग्यो । ६ मध्ये २ खेल जित र १ बराबरीबाट ७ अंक जोडेको बार्सिलोना तेस्रो भयो ।
अर्को स्पानिस क्लब सेभिया पनि समूह चरणबाटै बाहिरिएको छ । समूह जीअन्तर्गत अन्तिम खेलमा साल्जवर्गसँग १-० ले पराजित भएपछि सेभिया शीर्ष दुईमा पर्न सकेन । फ्रेन्च क्लब लिल र साल्जवर्ग यस समूहबाट अन्तिम १६ मा प्रवेश गरेका छन् ।