हेटौँडा : नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा प्रतिद्धन्द्धि नुवाकोटका जगदिश्वर नरिसंह केसीलाई हराउँदै बानियाँले बाजी मारेको हो । काँग्रेस सभापतिमा बानियाँ र केसीसँगै काठमाडौँका भीमसेनदास प्रधानको त्रिपक्षिय भिडन्त थियो । तर सभापति पदमा उठेका तीनै जनाको ५१ प्रतिशत मत नपुग्दा पुनःनिर्वाचन भएको थियो । कांग्रेसको विधानमा सभापतिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ ।
दोस्रो पटक भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका बानियाँले १ हजार ८५ मत ल्याउँदै विजयी हाँसिल गरेका हुन् । सभापतिका अर्का उम्मेदवार रामचन्द्र पौडेल समूहका जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याए । यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो । सभापतिका अर्का उम्मेदवार प्रधानले दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गरेका थिए । आइतबार सभापति पदका लागि भएको निर्वाचनमा २ हजार २५ मत खसेको थियो ।
कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा ९१ पदका लागि २५७ जनाको उमेदवारी परेको थियो । अधिवेशनबाट दुइ उपसभापति, दुइ महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।