हेटौडा : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत बागमती प्रदेशको सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार इन्द्र बानियाँ, जगदिश्वरनर सिहं केसी र भिमसेनदान प्रधानले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
बानियाँले कांग्रेस सभापति शेरबहादुर देउवा समूहको नेतृत्व सम्हालेका छन्, त्यस्तै केसीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्व गरेका छन् भने प्रधानले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्व गरेका छन् ।
प्रदेश संरचना पश्चात पहिलो पटक हुन लागेको काँग्रेसको प्रदेशस्तरीय अधिबेशनको उद्घाटन बिहिबार, मनोनयन दर्ता शुक्रबार राखिएको थियो । बागमती प्रदेशको नेतृत्वका लागि भोलि शनिबार मतदान हुने बताइएको छ ।
सभापतिका बानियाँको समूहको उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन् ।
त्यस्तै केसी प्यानल समूहबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कन्चनचन्द्र बादे, रामचन्द्र अर्याल (बादे), सहमहामन्त्रीमा जीवन डंगोल, ऋषिराम घिमिरे, बीरबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।
कांग्रेस बागमती प्रदेशको पदाधिकारीमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ जना सहमहामन्त्री चयन हुनेछ । प्रदेशस्तरीय ९१ जना निर्वाचित हुनेछन् । जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुल्लातर्फ सदस्य र ३५ जना समावेशीतर्फबाट निर्वाचित हुनेछ ।