चितवन –
नेकपा एमालेको १० औं महाधिवेशमा अध्यक्षसहित १४ पदाधिकारीका लागि निर्वाचन हुने पक्का भएको छ। पार्टी अध्यक्ष केपी ओलीको पूर्ण सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदका लागि निर्वाचन हुने भएको छ।
अध्यक्ष ओलीले सोमबार राति बन्दसत्रमा प्रस्तावित सूचीलाई चुनौती दिँदै अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन्।
यस्तै वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा थप उम्मेदवारी नपरेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेका थिए। सो सूचीप्रति असन्तुष्ट जनाउँदै घनश्याम भुसालले उम्मेदवारी दिएपछि सो पदमा प्रतिस्पर्धा हुने भएको हो।
यसैगरी,ओलीले सचिवमा ओलीले प्रस्ताव गरेका टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्यालको नाम सूचीमा राखेका थिए। सो सूचीमा आफ्नो नाम नपरेको भन्दै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो।
एमाले नेताहरुले यो महाधिवेशनलाई सहमतिको महाधिवेशन बताउँदै आएपनि पूर्ण सहमति जुट्न नसकेपछि निर्वाचनबाट पदाधिकारीको टुंगो लाग्ने भएको हो।