धादिङ– नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनमा युवा आकांक्षीहरु धेरै देखिएका छन् । यसअघि विभिन्न भातृ संगठनहरुको नेतृत्व गरिसकेका र पार्टीको विभिन्न जिम्मेवारी सम्हालेका युवाहरुले जिल्ला कार्यसमितिको पदाधिकारीमा आकांक्षा देखाएका छन् ।
यसअघि जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेका युवा नेता विकास श्रेष्ठले सचिवमा पदमा उम्मेदवारी दिने भएका छन् । जिल्लाका युवा नेताहरुको नेतृत्व गर्दै आफुले सचिव पदमा उम्मेदवारी दिन लागेको श्रेष्ठले बताए ।
जिल्ला कार्यसमिति सदस्य नवराज तिमल्सिनाले यो अधिवेशनमा सहसचिव पदमा उम्मेदवारी दिने भएका छन् । सामाजिक संजालमा पनि श्रेष्ठ र तिमल्सिनाको उम्मेदवारीको चर्चा चलेको छ ।
श्रेष्ठ र तिमल्सिना दुबैले आफुहरु गुटको राजनीति भन्दा पनि पार्टीको समग्र विकासको लागि युवाको नेतृत्व गर्दै उम्मेदवारी घोषणा गरेको दावी गरेका छन् । कांग्रेस भित्रका युवापुस्ता यी दुई नेताले यसअघि कांग्रेसको प्रकाशन र प्रचार प्रसारको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।
कांग्रेसको जिल्ला अधिवेशन लागि मंसिर १० गतेदेखि सुरु हुँदैछ । १० गते मनोनयन दर्ता र ११ गते मतदान हुने कांग्रेसले जनाएको छ । जिल्ला सभापतिमा भीमप्रसाद ढुंगाना र रामनाथ अधिकारीले यस अघि नै उम्मेदवारी घोषणा गरि सकेका छन् ।