Thu. Nov 28th, 2024

महिनावारी हुँदा किन दुख्छ पेट ?

– प्रतिमा तिमल्सिना

महिनावारी महिलाको प्राकृतिक प्रकृया हो । यो नियमित हुन्छ । सामान्यतया १२ देखि १५ वर्ष उमेर पुरा भएपछि किशोरीहरुमा महिनावारी सुरु हुन्छ । सुरु भएपछि हरेक २८ दिनमा यो प्रकृया दोहोरिने भएपनि केही महिलामा चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिनसम्म सामान्य रूपमै हुन सक्छ ।

सुरूमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरूपमा विकास भएको हुँदैन । त्यसले गर्दा महिनावारीका बेला विभिन्न समस्या आउने गर्छ ।

प्राय सबैजसो महिलाले महिनावारी हुँदा धेरथोर पीडा भएको अनुभव गरेकै हुुन्छन् । आधाजसो महिलाले त बेस्सरी नै दुखेको महसुस गर्छन् । महिनावारी हुँदा कतिपय महिलालाई तल्लो पेट असाध्यै दुख्न सक्छ र त्यसले सामान्य दैनिक जीवनलाई नै अप्ठयारोमा पार्छ । महिनावारीबारे आवश्यक ज्ञान नहुँदा किशोरीले असजिलो महशुस गर्नुका साथै अप्ठ्यारो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ ।

स्वस्थ महिलामा अन्य लक्षणको कुरा गर्दा दुख्नुका अतिरिक्त ३ देखि ५ दिनसम्म योनिवाट रगत आउँछ । महिनावारी सञ्चालनको प्रक्रियामा हर्मोनको उतारचढावका कारण पीडा हुन्छ, तर कतिपय महिलामा असाध्यै पीडा हुने कारण यी हार्मोनप्रतिको अति संवेदनशीलता हो भनिन्छ ।

धेरै मोटोपना र दुव्लोपना हुँदा महिनावारीको बेलामा समस्या हुन सक्छ । यस्तो अवस्थामा थाइराइड र रगतको जाँचका साथै भिडियो एक्सरे गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिनु आवश्यक हुन्छ ।

सरसफाइको अभाव
कमजोर आर्थिक अवस्था, सहज पहुँचको अभाव र चेतनाको कमी, लाज मान्ने प्रवृति जस्ता कारणले कतिपय किशोरीले महिनावारीको बेला आफ्नो सरसफाइमा त्यति ध्यान दिएको पाइँदैन ।

गाँउतिर जस्तो पायो त्यस्तै कपडा र पुरानो टालोलाई प्याडको रूपमा प्रयोग गर्ने चलन छ । त्यसले ग्रामीण भेगका अधिकांश महिलामा पाठेघरको संक्रमण भएको पाइन्छ । जसमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, फोहर पानी बग्ने र योनी चिलाउने समस्या हुन्छ । त्यसैले महिनावारी हुँदा आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ । गुप्ताङ्गान सफा पानीले मात्र धुने सफा गर्ने गर्नु पर्छ । यस्तो बेलामा हरेक चार घण्टामा प्याड फेर्नु पर्छ ।

महिनावारीको समयमा कसैलाई धेरै रक्तस्राव हुन सक्छ । कसैलाई कम रक्तस्राव हुने गर्छ । तर यो सामान्य प्रक्रिया हो । झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ । रक्तस्राव हुँदा कमजोर हुने भएकाले यस्तो बेला पोषणयुक्त खाना समेत खान जरूरी हुन्छ । शरीरमा रगतको मात्रा कमी हुन दिनु हुँदैन ।

किशोरी अवस्थामा महिनावारी हुँदा पीडा हुने थिएन, तर उमेर बढ्दै जाँदा पीडा हुन थाल्यो भने त्यो नराम्रो संकेत हो । यो अवस्थामा पाठेघरमा समस्या भएर पनि महिनावारीका बेला बढी पीडा हुनसक्छ ।

दुखाई कम गर्न के गर्ने ?
पीडा भैरहेका बेला आरामको आवश्यकता हुन्छ । त्यसैले थप आराम तथा सुत्ने प्रयास गर्नुपर्छ । तर नदुखेका बेला सकेसम्म अरुबेला जस्तै काममा व्यस्त रहनुपर्छ ।
पीडा कम गर्न तातो वस्तुले तल्लो पेटमा सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम हुन्छ । तातो खानेकुरा खाँदा र पेटमा हल्का मालिस गर्दा पनि पीडा कम हुन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि दुखाई कम गराउछ । यत्ति गर्दा पनि दुखाई सहन नसक्ने अवस्था आयो भने औषधी सेवन गरेर पनि पीडा कम गर्न सकिन्छ ।

घरेलु तरिका अपनाएर महिनावारी हँुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सकिन्छ । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैलीमा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ ।

रबडको थैली नभएका खण्डमा सिसीमा तातो पानी राखी दुखेका ठाउँमा सेक्न सकिन्छ । त्यसैगरी दुखेका ठाउँमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ, जसले शरीरलाई कमजोर हुन दिँदैन ।
(लेखक: नलाङ स्वास्थ्य चौकीमा कार्यरत छिन् ।)

About The Author

अन्य समाचारहरु: