धादिङ– नेपाली कांग्रेस धादिङको सभापतिमा भिमप्रसाद ढुंगानाले आफ्नो प्यानलसहित मुख्य पदका उम्मेदवारको टुंगो लगाएको छ ।
शुक्रबार एक समारोह नै गरेर ढुंगानाको प्यानलले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रका सभापति पदमा उम्मेदवारको पनि नाम सार्वजनिक गरेको हो ।
आशन्न १४औं जिल्ला अधिवेशनमा लागि प्रतिनिधि सभा क्षेत्र नं. १ को सभापतिमा रविसुदन थापा र प्रतिनिधि सभा क्षेत्र नं. २ मा दिपक कोइरालाको नाम टुंगो लगाएको छ ।
प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ मा श्याम रेग्मी र ‘ख’मा रामहरि कंडेलले उम्मेदवारी दिने भएका छन् । त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा ‘क’ मा ऋषि कुमार श्रेष्ठ र ‘ख’ मा रणबहादुर तामाङले सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा छन् । बुधबार पौडेल पक्षका अधिकारीले जिल्ला सभापतिसहित प्रतिनिधिसभा र प्रदेशसभा सभापतिको उम्मेदवारको नाम सार्वजनिक गरेपछि देउवा पक्षका ढुंगानाले पनि प्यानलसहित उम्मेदवारको घोषणा गर्नुले कांग्रेस केन्द्रमा देखिएको गुटको प्रभाव धादिङमा पनि छ भन्ने प्रस्ट भएको छ ।
ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीकाे साथ छ । अधिकारीलाई हालका जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, जिल्ला उपसभापति भक्त लामा, जिल्ला सचिव विनोद तिमल्सिनाको दरिलो साथ छ ।