Tue. Mar 4th, 2025

प्रकाशकीयः सफलताको आठौं वर्षमा पाविलन्युज

संसारमा आमसञ्चारका माध्यमको महत्व झनै बढ्दोे छ । आमसञ्चारका माध्यम जिम्मेवार र न्यायपक्षधर भएमा यसबाट धेरै सकारात्मक परिणाम प्राप्त हुनसक्छ । यो निष्कर्षलाई तथ्यहरुले नै प्रमाणित गर्दै आइरहेका छन् । एउटा पत्रिका, श्रव्य–दृश्य माध्यम, अनलाइन वा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार, रिपोर्ट, सम्पादकीय वा आलेखले समाजमा व्यापक प्रभाव पार्न सक्छ । त्यसले शक्तिशालीहरूबाट हुने मनपरी मात्र होइन, प्राकृतिक र दैवी विपत्तिसमेत रोक्न सक्छ । स्वतन्त्र सञ्चारमाध्यमको बलियो उपस्थिति भएको लोकतन्त्रमा भोकमरी र अनिकालका बिरलै उदाहरण छन् ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, पछिल्लो समयमा मध्यपूर्वका ट्युनिसिया, इजिप्टलगायका देशमा भएका चमेली क्रान्तिलगायतमा आमसञ्चारका माध्यम र सामाजिक सञ्जालले निर्वाह गरेको भूमिकाले पनि सञ्चारमाध्यम कति शक्तिशाली छन् भन्ने प्रस्ट हुन्छ ।

सूचना प्रविधिको तीव्र विकासका कारण आमसञ्चार माध्यमको परिधि पनि दिन प्रतिदिन फैलँदै गएको छ । सूचनाको पहुँच सहज र छिटो छ । सञ्चारमा लगानी बढिरहेको छ । एक दर्जन जति ब्रोडसीट दैनिक, त्यतिकै संख्यामा टेलिभिजन च्यानल, सयौं एफएम प्रशारण, साप्ताहिक–पाक्षिक पत्रिका, अनलाईनको बाढी थामिएको छैन । प्रविधि, प्रतिभा, पैसा र प्रभाव सकारात्मक भए पनि नेपाली मिडियाको पक्षधरता भने शंकास्पद रहँदै आएको छ । विगत केही दशकयता सञ्चारमाध्यम विज्ञापनले धानेको व्यवसाय बनेको छ । यो स्वाभाविक हो । तर, यसले सञ्चार माध्यमको समग्र नीतिमै हस्तक्षेप गर्न थालेको छ । जसका कारण यसमा निकै डरलाग्दा विकृति भित्रिएका छन् । कर्पाेरेट मिडिया संस्कृतिले सञ्चार माध्यमलाई असमानताको नयाँ हतियारमा परिणत गरेको छ । विज्ञापनदाता र उच्चवर्गका उपभोक्तालाई लक्षित गरेर आमसञ्चारका माध्यमले समाचार र विचार प्रवाह गरिदिँदा समाजमा रहेको न्युनवर्ग र सीमान्तकृत समुदाय अलगावमा पर्दै गएको छ । उनीहरूको आवाज मुखरित हुन सकेको छैन ।

एकातिर नेपालका ठूला सञ्चार घराना आफनो पुँजीगत स्वार्थका लागि ‘मिडिया स्टन्ट’ पनि गरिरहेका छन् । अनि अर्काेतर मुलुकका ज्वलन्त मुद्दाहरूमा आँखा चिम्लिरहेका छन् । संघीयताजस्ता जल्दाबल्दा विषयमा देखिएको नकारात्मक दृष्टिकोण यसको जल्दोबल्दो उदाहरण हो । मुख्यधार भनेका सञ्चारमाध्यम कर्पाेरेट क्षेत्रका अनियमिततामाथि अनुसन्धानमूलक रिपोर्टिङ गर्न तयार देखिन्नन् किनकि ती उनीहरूका विज्ञापनदाता हुन् । अर्काेतर राज्य पनि सञ्चार माध्यमलाई विभिन्न ढंगले नियन्त्रण गर्ने प्रयासमा लागिरहेको देखिनु झनै दुःखद् कुरा हो । यसरी धन र प्रलोभनको बलमा सत्यतथ्य नै बङ्ग्याइनु र कतिपय समयमा असत्य समेत प्रस्तुत गरिनु नेपाली सञ्चारमाध्यमको रोग नै बनेको छ ।

त्यसैगरी, छिपछिपेपना, गालीगलौज, ब्ल्याकमेलिङ आदि समस्याबाट पनि नेपाली सञ्चारजगत निकै ग्रस्त देखिन्छ । अझ बजारमा छ्याप्छ्याप्ति भेटिने अनलाइन पत्रिकाका समाचारको विश्वसनीयता त निकै कमजोर बन्दै गएको छ । मिडियामा गरिब निमुखाका आवाज कमै सुनिन्छ । तिनका आवाज बोलेको हुँ भन्नेहरूले पनि ढंग पु¥याएर बोल्न सकेको देखिँदैन । अलिकति प्रगतिशील र निष्पक्ष भनिएका सञ्चारमाध्यमको व्यवस्थापन निकै कमजोर रहने गरेको छ । यस्तो न्याय र मानवीय हितमुखी गम्भीर आमसञ्चारका माध्यमको खडेरी भइरहेको बेला ‘पाविल न्युन डटकम’ले आफ्नो नयाँ यात्रा सुरु गरेको सात वर्ष पुगिसकेको छ । गम्भीर, वस्तुगत र प्रगतीशील पत्रिकारिता हाम्रो मूल अभीष्ट हो ।

पाविल न्युजका सामग्रीमा हामी नेपाली राजनीति, समाज, अर्थतन्त्र, संस्कृति र यसमा उत्पन्न हुने विकृतिमाथि कलम त चलाउने नै छौं, त्यसबाहेक मोफसलमा रहेर मोफसलकै मुद्दालाई प्राथमिकतामा राख्न चुक्ने छैनौं । हामी धादिङलाई केन्द्र बनाएर पत्रकारिता गरिरहेका छौं । धादिङ हाम्रो कर्मको इपिसेन्टर हो । हामी यहाँको सवाललाई केन्द्रीय सवाल बनाउन क्रियाशील छौं । माथिका बासी सवाल स्थानीय स्तरमा व्यवस्थापन गर्ने उल्टो प्रक्रियालाई हामी किमार्थ समर्थन गर्न र अपनाउन तयार छैनौं ।

हामी माटोभन्दा माथि मान्छेलाई राख्छौं । मान्छेकै सुख, दुःखको साथी बन्न प्रयास गर्छाै । हामी जीवनका सबै रङ्गलाई समेट्न प्रयासरत रहेका छौं । समानता, पहिचान र न्यायका लागि संघर्षरत वर्गका मुद्दा हाम्रा प्राथमिकता हुनेछन् । हाम्रो यो यात्रामा यहाँहरुको साथ, सहयोग र सहकार्यका लागि कृतज्ञ छौं । आउँदा दिनमा पाविल न्युजको प्रगति र सफलताका लागि पाठक, प्रबुद्धवर्ग र अन्य सम्बद्ध पक्षको निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।

About The Author