काठमाडौ –
यस वर्षको तिहारमा १४ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको माला खपत भएको छ । तिहारमा करिब १२ करोड ७० लाख ५० हजार रुपैयाँको सयपत्री, १ करोड ६७ लाख ७५ हजार रुपैयाँको मखमली र ५२ लाख ५० हजार रुपैयाँको गोदावरी फूलका माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
यस वर्षको तिहारमा करिब १८ लाख ६५ हजार सयपत्री, मखमली र गोदावरी फूलका माला खपत हुने अनुमान रहे पनि बढी प्रयोगमा आएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले बताए । यसमध्ये १८ लाख १५ हजार सयपत्री, ३ लाख ५ हजार मखमली र १५ हजार गोदावरी फूलका माला प्रयोग भएका छन् ।
साथै यस अवधिमा नेपालबाट फूल निर्यात पनि भएको फ्यानको तथ्यांक छ । ‘नेपालबाट मखमली फूलका माला निर्यात भएको छ,’ उनले भने, ‘करिब ३० लाख रुपैयाँको एक लाख मखमलीका माला नेपालदेखि बाहिरिएको छ ।
उनका अनुसार यस वर्षको बजारमा एक मिटरका सयपत्री फूलको कारोबार प्रतिमाला ६०–८० र मखमली फूलको प्रतिमाला ४०–७० रुपैयाँसम्ममा कारोबार भयो ।