तिहार सांगीतिक पर्व पनि हो । तिहारको आफ्नो विशिष्ट गीत छ । त्यसलाई पेश गर्ने कौसल पनि आफ्नै किसिमको छ । त्यही गीतमा नाचगान गर्ने परम्परा छ ।
गाईतिहारको दिन महिलाहरु घर–घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन् । यो गीतले तिहारको झल्को आउँछ । गाईतिहारको पछिल्लो दिनबाट भने देउसिरे सुरु हुन्छ । त्यहि भैलिनी र देउसी गीत नै तिहारको विशेष गीत हो ।
अहिलेसम्म कसैले पनि गहन रुपमा अध्ययन गरेको पाइएको छैन । लोकभाका–लोक संस्कृतिका अध्येताहरुले देउसी भैलीलाई युगौंदेखि परम्पराका रुपमा चलिएको लोक भाका भनेका छन् ।
नेपाली समाजमा प्रचलित लोकभाकाहरु मध्ये अति लोकप्रिय भाका हुन् देउसी–भैली । विशेषतः तिहारको लक्ष्मीपूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भएपनि अहिले सामुहिक रुपमा देउसी–भैली गाउन थालिएको छ ।
राजनीतिक दलका सांस्कृतिक भातृ संगठन र कतिपय संघसंस्थाहरुले त देउसी भैलीलाई संस्थागत आयआर्जनको माध्यम पनि बनाएका छन् । यसका नाममा कतिपय घरधनीलाई सताउने र चर्काे आवाजमा गानाबजाएर ध्वनि प्रदूषण समेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्दै आएको छ ।
बत्तीको झिलिमिलीसँगै मनाइने तिहारको महत्व नै देउसीभैलीसँग गाँसिएको छ । दशैंलाई ब्राहृमणवादीहरुको पर्व भन्दै टीका बहिष्कार गर्ने तथा गर्न दवाव दिनेहरु समेत तिहारमा हुल बाँधेर देउसी–भैली खेल्न हिंड्छन् । सबै जातजाति र भाषाभाषीलाई आत्मीयता र भातृत्वको मालामा गाँस्न सक्नु नै तिहारको सबैभन्दा सवल पक्ष हो ।
८० वर्ष नाघेका बुढाबुढीदेखि केटाकेटी सबैले गाउन सक्ने भएकैले पनि देउसी भैलीको लोकप्रियता नेपाली माझ सर्वव्यापी भएको हो । अझ देउसी भैली गाउँदा आर्थिक उपार्जन सजिलै हुने भएकाले पनि यसप्रति जो कोही आकर्षित हुने गरेका छन् ।
पछिल्लो समयमा भने पुराणकालीन मिथक र लोककथाहरुको सट्टा समसामयिक राजनीति, सामाजिक विकृति र विसंगतिप्रति व्यङ्ग्य गर्दै देउसी खेल्न थालिएको छ । रेकर्ड भएर टिभीमा देखिने, रेडियोमा बज्ने देउसीमा मात्र होइन, गाउँघरमा संस्थागत रुपमा खेलिने देउसीमा समेत विकृति विसंगतिप्रति प्रहार गर्ने लहर सुरु भएको छ ।